आर्थिक कठिनाईलाई समाधान गर्दै सुशासन कायम गर्न सरकार लागेको छः प्रधानमन्त्री
-आस्था न्यूज
वैशाख २२, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा देखापरेको आर्थिक कठिनाईलाई समाधान गर्दै सुशासन कायम गर्न सरकार लागि परेको बताएका छन् ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा शुक्रबार आयोजना गरेको समारोहमा दाहालले मुलुकमा देखापरेको कठिनाईलाई चिर्दै जनताको मनोभावनाअनुसार काम गर्नु नै आफ्नो मुख्य उद्देश्य भएको बताए । बृहत्तर लुम्बिनीको विकासका लागि रामग्राम स्तूपको विशेष महत्व रहेको भन्दै उनले रामग्राम विकास गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
बुद्ध सर्किटमा पर्ने बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थलको संरक्षण र प्रचारप्रसार गरेर धार्मिक पर्यटकलाई नेपाल भित्र्याउनुपर्ने दाहालको भनाइ थियो । लुम्बिनी विकास कोषले रामग्राम स्तूपको विकासमा प्रभावकारी पहल नगरेको भन्दै छुट्टै रामग्राम विकास कोष स्थापना गरीने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए ।
बुद्ध जयन्तीको अवसरमा रामग्राम नगरपालिकाले पण्डितपुर र रामग्राम स्तूपमा आज अस्तुपूजासहित कार्यक्रम आयोजना गरेको थियो ।