Trending :
 

संसदीय सुनुवाइ समितिमा रहने सांसदको नाम ३ दिनभित्र बुझाउन निर्देशन

बैशाख २४,२०८०

-आस्था न्यूज

वैशाख २४, २०८० काठमाडौं ।
सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समितिमा रहने सांसदको नाम तीन दिनभित्र बुझाउन निर्देशन दिएका छन् ।
 
आइतबार प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठकमा सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, सचेतक र कार्यव्यवस्थामा प्रतिनिधित्व गर्ने नेताहरूलाई तीन दिनभित्र समितिहरूमा रहने सदस्यहरूको नाम बुझाउन निर्देशन दिएका हुन् ।
 
संघीय संसद्‍क संसदीय सुनुवाइ समिति गठन नहुँदा प्रधानन्यायाधीश, न्यायाधीश लगायतको नियुक्ति प्रक्रिया रोकिने भएको छ ।
 
त्यस्तै, संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति पनि गठन भएको छैन । यी दुवै समितिमा रहने सदस्यहरूको नाम तीन दिनभित्र बुझाउन सभामुखले निर्देशन दिएका हुन् ।
 
राष्ट्रिय सभाबाट संसदीय सुनुवाइमा बस्नेको नाम पठाइसकिएको छ भने प्रतिनिधिसभामा बस्नेको नाम राजनीतिक दलहरूले बुझाउन बाँकी नै रहेको छ । दुवै समितिमा १५र१५ सदस्य हुन्छन् जसमध्ये १२ जना प्रतिनिधिसभा र ३ जना राष्ट्रिय सभाबाट हुने कानुनी व्यवस्था रहेको छ ।