विदेशी लगानीमैत्री वातावरण बनाउन केही कठोर कदम चाल्नुपर्ने प्रधानमन्त्रीको भनाई
-आस्था न्यूज
वैशाख २४, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग व्यवसायको विकास र विस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
काठमाडौंमा आइतबार आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि, उद्योग र स्वरोजगारले विशेष प्राथमिकता पाउने जनाए । उनले कृषि क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्दै लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायको विकास गर्न आवश्यक रहेको पनि बताए ।
उनले तीव्र आर्थिक वृद्धिका लागि कृषि तथा वन पैदावर, पर्यटन, जलविद्युत्, सूचना प्रविधिलगायत प्रचुर सम्भावना बोकेका क्षेत्रहरुमा स्वदेशी तथा वैदेशिक लगानी बिस्तार गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले विदेशी लगानीमैत्री वातावरण बनाउन केही कठोर कदम चाल्नुपर्ने आवश्यक महसुस गरेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले विधि प्रक्रियाको झन्झटलाई अन्त्य गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताए ।