भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

बैशाख २६,२०८०

-आस्था न्यूज

वैशाख २६, २०८० काठमाडौं ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ(पीटीआई) प्रमुख इमरान खान पक्राउ परेका छन् । उनलाई इस्लामावाद उच्च अदालत अगाडि गिरफ्तार गरिएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ । 

तेहरिक(ए(इन्साफका वकिल फैसल चौधरीले पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गरिएको पुष्टि गरेका हुन् । पीटीआईका उपप्रमुख फवाद चौधरीले एक ट्विट गर्दै रेन्जर्सले खानलाई उच्च अदालत अगाडि गिरफ्तार गरेको जनाएका छन् । ‘इमरान खानको गाडी घेरिएको छ‚’ उनले ट्विटरमा लेखेका छन् ।
 
उनलाई कुन मुद्दामा पक्राउ गरिएको भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन । उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दामा अदालतले बारम्बार उपस्थित हुन जारी गरेको सूचनालाई अवज्ञा गरेको भन्दै उनलाई पक्राउ गरिएको गृहमन्त्रालयले जनाएको छ ।
 
पाकिस्तानका पूर्वविदेशमन्त्री साह महमुद कुरेसीको अध्यक्षतामा गठन भएको ६ सदस्यीय समितिले उनको कारबाहीबारे निर्णय गर्ने पाकिस्तानका राष्ट्रिय सभा सदस्य असद उमरलाई उद्धृत गर्दै डनले लेखेको छ ।
 
उनी पक्राउ परेपछि पाकिस्तानका विभिन्न सहरहरूमा प्रदर्शन भइरहेको छ ।