पूर्वीय दर्शनमा आश्रम प्रणाली र व्यवस्था

बैशाख २६,२०८०

-यज्ञप्रसाद भट्टराई

  • यज्ञप्रसाद भट्टराई
 
शाब्दिक अर्थमा भन्दा  आश्रम भन्नाले प्राचीन ऋषिमुनिहरुले आफू बस्नका लागि प्राय जङ्गलमा बनाएको आवास, कुटी वा गुफा हो जसलाई समाधि वा तपस्या गर्ने ठाँउ तथा तपोवन पनि भनिन्छ। आश्रम जीवनको त्यो स्थिति हो जसमा कर्तव्य पालनाको लागि पूर्ण परिश्रम गरिन्छ र आश्रमलाई ऋषिमुनिहरु रहने पवित्र स्थान पनि भनिन्छ।हिन्दू संस्कृतिअनुसार चार वर्णाश्रम मध्ये आयुको विभाजनबाट ग्रहण गरिने जीवन प्रकृया विशेष एवं एक प्रकारको जीवन चर्या हो। आश्रमको धर्म पालना गरेर बस्ने  व्यक्तिलाई आश्रमबासी भनिन्छ र त्यहाँ आफ्नो आश्रम धर्मको अनुकूल आचरण  आश्रमवासीले गर्दछन। एक व्यक्तिको जीवनलाई चार हिस्सामा बाँडिएको छ । व्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास नामक  चारै वर्णाश्रमका व्यक्तिहरुले पालना गर्नुपर्ने धर्म आश्रम धर्म हो र जसमा सम्यक प्रकारबाट श्रम गरिन्छ।प्राचीनकालमा व्यक्तिगत अवस्थाको दुई स्तम्भ छन जसमा एक पुरुषार्थ र अर्को आश्रम हो।सामाजिक तथा प्रकृतिक गुण, कर्म तथा स्वभावको आधारमा चार वर्णमा बर्गिकरण गरिएको पाईन्छ । त्यसैगरी व्यक्तिगत संस्कारको लागि व्यक्तिको जिवनको बिभाजन चार आश्रममा भएको पाईन्छ जसमा व्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास  पर्दछन।
 
आश्रमको प्रार्दुभाव वैदिक युगमा भएको पाईन्छ।यसको विकास एवं सुदृढ हुनको लागि काफी समय लागेको थियो।आपस्तंब धर्मशुत्रअनुसार ग्राहस्थ, आचार्यकुल, मौन र वानप्रस्थ गरी चार आश्रम थिए । गौतम धर्मशुत्रमा  व्रह्मचारी, गृहस्थ, भिक्षू तथा वैखानस गरी चार आश्रम भएको पाईन्छ।वशिष्ठ धर्मशुत्रअनुसार गृहस्थ, व्रह्मचारी ,वानप्रस्थ तथा पर्वाजिक गरी चार आश्रमको वर्णन गरेको पाईन्छ।
 
आश्रम व्यवस्थाको शारीरिक तथा सामाजिकका साथै त्यसको आध्यात्मिक तथा दार्शनिक आधार पनि रहेको छ । जीवलाई सार्थक वनाउनको लागि चार पुरुषार्थ अर्थ, धर्म, काम र मोक्षको कल्पना भारत बर्षमा मनीषिले गरेका छन । प्रथम तीन पुरुषार्थ साधनको रुपसँग र अन्तिम मोक्ष साध्यको रुपमा व्यवस्थित छ । मोक्ष जिवनको अन्तिम लक्ष्य हो त्यो अकस्मात प्राप्त हुन सक्दैन र यसको लागि साधनाद्धारा क्रमश  जीवनको विकाश र परिपक्कता आवाश्यक हुन्छ । यस उद्धेश्य परपूर्तिको लागि  भारतबर्षमा आश्रम संस्थाको व्यवस्था गरे । 
 
आश्रम वास्तबमै जिवनको शिक्षालय अर्थात विद्यालय हो।आश्रमको धेरै ठूलो सार्वभौम तथा शास्त्रीय महत्व रहेको पाईन्छ। हिन्दुधर्ममा मानव जीवनमा चार चरणहरु सम्मिलित भएको विश्वास गरिन्छ र यसलाई आश्रम भनिन्छ । आश्रम व्यबस्था जिवनचक्रको महत्वपूर्ण अंश भनेको धर्ममा यसको ध्यान हो । प्राचीन भारतमा ऋषिमुनिहरु वनमा कुटी बनाएर बस्ने गर्दथे जहाँ उनीहरुले ध्यान र तपस्या गर्दथे ।उक्त स्थानमा समाजका व्यक्तिले आआफ्ना  वालवालिकाहरुलाई वेद अध्यनका साथै अन्य विद्या सिकाउनको लागि पठाउथे।विस्तारै विस्तारै उक्त आश्रम  सन्यासी,त्यागी र धार्मिक व्यक्तिको लागि शरणास्थल बन्न गयो । सत्यको खोजको लागि आश्रम प्रमुख केन्द्र बन्न गयो । आश्रमको आफ्नो व्यवस्था एवं नियम हुन्छ। आश्रम  शिक्षा ,ज्ञान ,धर्म ,ध्यान र तपस्याको केन्द्र हो ।
आश्रमको विकास उपनिषदकालमा भएको मानिन्छ।
 
वैदिक हिन्दु समाजका धर्मत्वका विज्ञ तथा दार्शनिकहरुद्धारा समाज विकासको लागि वर्ण व्यवस्थाको आवाश्यकता मानिए जस्तै  व्यक्तिको व्यक्तित्व विकास गरी  जीवन र जगतको वास्तविक रहस्य बुझी सुख, आनन्द ,स्वर्ग तथा मोक्ष प्राप्तिका लागि आश्रम व्यवस्था अनिवार्य मानिएको छ ।यसको माद्यमबाट मानिसले पूर्णता र सन्तोष प्राप्त गर्दछन । 
 
आश्रम प्रणालीलाई पूर्बीय दर्शनमा जीवनको कला पनि भनिन्छ । जिवनलाई दुई ढंगले जिउन पनि सकिन्छ।एक हो सृष्टिको क्रम अनुकूल तथा सृष्टिको क्रमअनुसार सरल र सहज प्रवाहमा र अर्को हो सृष्टिको क्रमको प्रतिकूत तथा सृष्टिको विरोध र विद्रोहमा। त्यसैगरी व्यक्ति पनि दुई तरहका हुन्छन एक जीवनको धाराको प्रतिकूल वग्दै जाने र अर्को जीवनको धारामै सहजरुपमा बग्दै जाने हुन्छन। जुन व्यक्ति जिवनधाराको अनकूल तथा सृष्टिको क्रमअनुसार नै वग्दछन साथै जुन जीवनको साथमा लडदैनन ती व्यक्तिहरु धार्मिक हुन्छन।
 
जुन व्यक्ति जिवनधाराको प्रतिकूल र सृष्टिको विपरित हिड्दछन अर्थात जिवनदेखि लडछन त्यस्ता व्यक्ति अधार्मिक हुन्छन र त्यस्ता व्यक्तिले सदा भन्ने गर्दछन ईश्वर छैनन। जो व्यक्ति जीवनदेखि लडछन र सृष्टिको प्रतिकूल हुन्छन त्यस्ता व्यक्तिको लागि ईश्वर पनि हुदैनन। जो व्यक्ति स्वस्थ्य  र मस्त हुन चाहन्छन त्यस्ता व्यक्तिहरु जीवनधारा अनुकूल चल्नुपर्दछ र सृष्टिको नियमलाई मान्नु पर्दछ।जो व्यक्ति सृष्टिको विपरित चल्छ त्यो व्यक्ति रुग्ण  र दुखी हुन पुग्दछ ।आश्रम प्रणाली अनुकूल चल्नु नै सृष्टिको अनुकूल चल्नु मानिन्छ ।
 
यसर्थ सुसंगठित आश्रम प्रणाली भारतवर्षको आफ्नो विशेषता हो।यसको एकदम वहुतै ठूलो सार्वभौम शास्त्रीय महत्व छ।हिन्दुधर्मशास्त्रमा मानव जीवनका चार चरणहरु सम्मिलित भएको विश्वास गरिन्छ जुन आश्रम हो।धेरै पहिलेदेखि नै हिन्दुसमाजमा आश्रम प्रणाली अस्तित्वमा रहेको थियो र आजपनि यो प्रणाली हिन्दु सामाजिक तथा धार्मिक परम्परामा  यो एक महत्वपूर्ण स्तम्भको रुपमा रहेको छ।
 
आश्रमका प्रकार 
जिवनको धारामा एवं हिस्सामा एकसय वर्षको उमेरलाई स्वीकार गरिएको छ। जीवनको पहिलो पच्चीस वर्षलाई ब्रह्मचर्य आश्रम, दोस्रो पच्चीस वर्षलाई गृहस्थ आश्रम, तेस्रो पच्चीस वर्षलाई वानप्रस्थ आश्रम र चौथो पच्चीस वर्षलाई सन्यास आश्रम भनिन्छ यही नै आश्रम प्रणाली हो ।
 
१. ब्रह्मचर्य आश्रम 
ब्रह्मचर्य ‍औपचारिक शिक्षाको अवधि हो। जुन जीवनको पहिलो २५ बर्षको उमेरसम्म रहन्छ ।यो अवधि प्रभातको एवं उर्जा तथा शक्ति (ईनर्जी) को हो।यस उमेरलाई शक्ति (ईनर्जी) संचयको उमेर पनि भनिन्छ। यस अवधिलाई जीवन तयारीको अवधि पनि भनिन्छ। २५ बर्षको उमेरसम्म व्यक्तिले आफ्नो घर परिवार छोडी गुरुको पासमा गएर आध्यात्मिक तथा व्यवहारिक ज्ञान प्राप्त गर्दछन र आफ्नो भविश्यको पेशाका लागि तयार हुन्छन। यस आश्रममा रहँदा विद्यार्थीले नियमित स्वअध्याय, नित्य स्नान, अग्नी सेवा र भिक्षाटनबाट जिविका पार्जन गर्ने र सधै गुरुको समिपमा रहने नियम पालना गर्नु पर्दछ।
 
गुरुकूल आश्रममा विद्यार्थीलाई दिक्षान्त समारोह गरी ५० वर्ष उमेरसम्म गृहस्थ आश्रममा वस्ने निर्देशन दिई उनीहरुलाई घर पठाउने गरिन्छ।शुरुका २५ वर्षको जीवन ज्यादै कठोर र अनुशासित बनाईएको हुन्छ। यो जिज्ञासा र विकासको अवस्था पनि हो। भावी जीवनको तयारीका लागि अनुशासनमा बस्ने अवस्था हो। यो कठीन परिश्रमको समय हो।सत्गुरु ओशो भन्नुहुन्छ यो अवधि शक्ति अर्थात ईनर्जी संचयको वर्ष हो र जति ईनर्जी बढछ व्यक्ति त्यति कामवासनाबाट मुक्त हुन्छ। हामीले २५ वर्षको उमेरसम्म ईनर्जी संचय गर्नुपर्दछ।जति ईनर्जी हाम्रो पाशमा हुन्छ त्यती हामी गहिरो ईन्द्रीयको अनुभवमा जान सक्छौ,जति गरिरो ईन्द्रीयको अनुभवमा जान्छौ उती ईन्द्रीय कामवासनाबाट मुक्त हुन सक्छौ।जुन व्यक्तिको बचपन अर्थात वाल्यअवस्था जति श्रमको हुन्छ त्यती उसको वाँकी जिन्दगी सुख र आनन्दको हुन्छ । जसको बचपन सुखी हुन्छ उसको बाँकी जिन्दगी विषाद र दुखी हुन्छ।सुख सधै तुलनात्मक हुन्छ। 
 
तर बिडम्वना आजभोली हाम्रो छरछिमेक र समाजमा ठीक उल्टो भएको देखिन्छ।वालवालिकालाई हामी सानोमा श्रम गराउन चाँहदैन।एक्लै घरबाट वाहिर निस्कन दिँदैनौ।अझ रमाईलो कुरा त एसईई दिने उमेर भएका आफ्ना छोराछोरीलाई आमाले खाना खुवाईदिने गरेको पनि यदाकदा सुनिन्छ र देखिन्छ। अहिलेको समाजमा उसको पितालाई नमिलेको सुख छोराछोरीलाई मिलेको छ।
 
 यदी घरमा त्यो सुख नमिलेको भएमा त्यो नमिलेको सुख छात्रवासमा भएपनि  अबश्य मिलेको हुन्छ।अहिलेको शहरी समाजमा २५ वर्षसम्मको उमेर विनाश्रम र विना संघर्ष वितेको छ। अहिलेको अबस्थामा सवै सुख वाल्यकालमै पाएका छन तसर्थ आजका वालवालिकाहरुलाई  तुलनात्मक रुपमा भोलि जे सुख मिल्नेछ त्यो उनीहरुलाई सुख लाग्ने छैन।यो २५ वर्षसम्मको अवधि भनेको श्रम, साधना र संकल्पको भएको हुँदा सो अनुकूल कार्य नभएकोले आजका वालवच्चाले भोलीका दिनमा सुखको अनुभव गर्न पाएका हुँदैनन किनकी उनीहरुले तुलना गर्ने मौकै पाएका हुँदैनन।पहिला हामी गाँउको झूपडीमा बस्ने गर्दथ्यौ, गाँउको उत्पादन खाने गर्थ्यौ ,गोरेटो बाटो हिडने गर्दथ्यौ र त्यसको तुलनामा आज हामीले महल देख्न पाएका छौ, मोटरबाटो देख्न पाएका छौ ,शहर देख्न पाएका छौ र खुसीको अनुभव गरेका हुन्छौ । तर आजको पुस्तामा त्यो अनुभव छैन किनकी उनीहरुले सबै कुरा जन्मदै देखेका छन र सुखको अनुभव गर्ने क्षमता हराईसकेको छ।यसैले आजका युवायुवतीहरुमा दिनानुदिन निराशा बढदै गएको छ। 
 
पहिलो २५ वर्षको आश्रम श्रम, साधना र संकल्पको भएको हुँदा यो अवधिमा कठीन परिश्रम गर्नुपर्ने हुन्छ। तर आज हाम्रो परिवेशमा हेर्दा बच्चाले कम श्रम गर्छन भने वृद्धले बढी श्रम गरेको देखिन्छ।हुनुपर्ने थियो जससंग बढी शक्ति छ उसले बढी परिश्रम गर्नुपर्ने थियो।पहिलो आश्रम प्रणाली शक्तिको संचय ,प्रयोग र क्षमताको विकास गर्ने समय हो र यो विश्राम गर्ने समय होईन ।‍
 
ओशो भन्नुहुन्छ व्यक्तिको जुन विकास हुनुपर्ने हुन्छ त्यो पहिलो २५ वर्षमै हुन्छ तसर्थ यो समय विश्रामको होईन, सतत श्रमको हो, कठोर परिश्रमको हो ।यो अवधिमा परिश्रम गर्दा दुई परिणाम मिल्छ एउटा व्यक्तिले पूरा शक्ति अर्थात ईनर्जीलाई जगाएर जीवनमा जान योग्य हुन्छ र अर्को जीवनमा उसलाई सन्तोष र आनन्द मिल्छ । व्रह्मचर्यमा जिवन साम्यवादी हुन्छ अर्थात कम्युन हुन्छ।को गरिव को धनी ,को राजा को रैती कुनैमा  पनि भेद गरिदैन र यो वर्ष भनेको सहजीवनको वर्ष हो अर्थात समान जीवनको वर्ष हो । सवैले समान काम गर्ने वर्ष हो। यसले गर्दा ह्दयमा समानता र सामाजिकपन प्रविष्ट हुने गर्दछ ू।
 
२.गृहस्थ आश्रम 
गृहस्थ आश्रमको अर्थ घरेलु जीवन हो।यो उत्पादन र उपभोगको अवस्था पनि हो।जीवनको सक्रिय अवस्था अर्थात २५ वर्षदेखि ५० वर्षसम्मको  उमेरलाई गृहस्थ आश्रम भनिएको हो। यस आश्रमको कर्तव्यमा विवाह र दाम्पत्य सुख , सन्तान उत्पादन र लालनपालन, धन आर्जन, अतिथि सत्कार, दान, मान्यजनको आदार, यज्ञ गर्नु गराउन तथा शास्त्र चर्चाका कुराहरु पर्दछन । सन्तान उत्पादनले पितृऋणबाट मुक्त भईन्छ भनिएको छ । ब्रह्मचर्या आश्रममा संचित भएको शक्ति  एवं ज्ञानलाई यस गृहस्थ आश्रममा प्रयोग गरिन्छ ।यस आश्रममा पुष्ट शरीर, वलिष्ट मन, सुसंस्कृत वुद्धि एवं प्रवद्ध प्रज्ञा लिएर विद्यार्थी गृहस्थ जीवनमा प्रवेश गर्दछन।विवाह गरेर सामाजिक कर्तव्य निभाईन्छ ।गृहस्थ आश्रम अन्य आश्रमको तुलनामा कठोर मानिन्छ।घरपरिवारको व्यवहार मिलाउनेदेखि भगवान भक्तिमा मन डुवाउने र आफ्नो लोकाचारलाई जोगाउनको लागि गरिने सबै व्यवहारहरु गृहस्थकै काँधमा थोपारिएको हुन्छ। गृहस्थ आश्रममा पठाउँदाका गुरुहरुले सबैभन्दा पहिले सदा सत्यको भाषण गर्न र कठीन आपत्ति पर्नेवेलासम्म पनि आफ्नो सत्यवचन मर्न दिन नहुने ज्ञान दिएर पठाउँछन ।गृहस्थ आश्रममा परम्परा सुरक्षित राख्न शास्त्रीय विधि अनुसार विवाहित धर्मपत्नीको साथ बस्ने र धेरै आफ्नो वाणीको महत्व दर्शाउनुपर्ने भनिएको छ ।
 
सीमित अवस्था वाहेक अरु अबस्थामा गृहस्थले झुटो बोल्नु र अधीक जिस्कनु गृहस्थ धर्मभन्दा वाहिर गएको मानिन्छ।धर्म रक्षाको लागि बोल्नुपरेमा कहिलेकाँही  झुटोबोल्नु पर्ने अवस्था आएमा पछि हटन नहुने भनिएको छ ।एकदम दुख पाएको मानिसले दुखरुपी संकटबाट मुक्तहुने अबस्था छ भने त्यस्तो अबस्थामा मात्र झुटो बोल्नु पनि आश्रमको नियम विपरित नहुने मानिएको छ । अन्य अबस्थामा झुटो बोल्नुको साटो बरु मौन रहनु नै उचीत हुने भनी धर्मशास्त्रमा बताईएको छ । ब्रह्मचर्या पछि गृहस्थ आश्रममा प्रवेश हुने हुँदा यस आश्रममा विवाह, कामवासना र ईन्द्रीय सुखको प्रवेश गर्ने मौका दिईन्छ । 
 
यस आश्रममा प्रवेशपश्चात मानिसले व्रह्मचर्या आश्रम र गृहस्थ आश्रममा कुन आनन्दित छ भनी तौलन पाउने मौका पाउछ।आनन्द र सुख वासनामा मिल्दैन भन्नेकुरा जान्न पाँउछ। वासना सिर्फ कर्तव्यको रुपमा रहन्छ र कहिले पनि भोगको तृष्णा वन्न सक्दैन ।यसर्थ वासनाको जगतमा यात्रा गर्नु पहिले ब्रह्मचर्याको अनुभव अनिबार्य हुन्छ अन्यथा वासनाले कहिल्यै पनि छोडदैन। सन्तान उत्पादनको लागि मात्र जो काममा अर्थात संभोगमा उत्रन्छ त्यो बह्मचारी हो ।ज सले ब्रह्मचर्या जानेको हुन्छ त्यसले कामवासनालाई कर्तव्य मात्र सम्झन्छ र जो कर्तव्य निभाउछ त्यो मुक्त हुन्छ। 
 
५० वर्षको उमेर हुँदा उसको सन्तान २५ वर्षको हुन्छ र आश्रमबाट फर्कन योग्य हुन्छ। ओशो भन्नुहुन्छ ू आजकल हाम्रो समाजमा एउटै घरमा पिताले पनि सम्भोग गरेको हुन्छ र छोरा पनि सम्भोगमै हुन्छ यो वहुत अनैतिक हुन्छ। छोराले विवाह गरेर आउछ र बच्चा पैदा गर्छ र पिताले पनि अझै सन्तान जन्माउदै हुन्छ वा अझै वचपनमै हुन्छ र अझतक कामवासनाबाट मुक्त हुन सकेको हुँदैन। आश्रम प्रणालीमा जुन घरमा छोरा विवाहित हुने उमेरको हुन्छ उसदिन पिता वानप्रस्थ जान योग्य हुन्छ। वावुले २५ सालको जो अनुभव जिन्दगीमा लिन्छ त्यो कार्य छोरालाई दिनु अनिवार्य हुन्छ।जिन्दगीमा जो पाएको हुन्छ त्यो छोरालाई दिनु जरुरी हुन्छ ।घरको र ज्ञानको अनुभवको सारा चापी छोरालाई दिएर पिता वानप्रस्थ हुनु पर्दछ ।
 
 
३. वानप्रस्थ आश्रम 
गृहस्थ पछिको २५ वर्षको अवधिलाई वानप्रस्थ भनिएको छ । ५० वर्षदेखि ७५ वर्ष उमेरसम्मको अवस्था हो ।वानप्रस्थान भनेको जसको मोह जङ्गलतर्फ हुन्छ अर्थात जङ्गल तर्फको यात्रा हो ।वनतिर पस्न वा प्रस्थान गर्न तैयार भएको अवस्था वानप्रस्थ हो।यो वनमा वस्ने अबस्था हो अर्थात आफूले संहालेको सांसारिक जवनको जिम्मा आफ्नो सन्तानलाई दिई आफू हल्का हुने अबस्था हो। यो ज्ञान र अनुभवको सामान्जस्यताको अवस्था हो । यस अवस्थामा व्यक्तिले शारीरिक , भौतिक र यौन अर्थात कामवासनाका सुखहरु सव त्याग्नु पर्दछ। परिवारको शीरको रुपमा व्यक्तिको कर्तव्य पूरा अर्थात समाप्त हुन्छ र उ हजुरवुबा बन्ने अवस्थामा हुन्छ।सामाजिक र व्यवसायिक जीवनबाट अवकाश लिनु पर्दछ । 
 
आफ्नो घर छोडेर जङ्गलको एउटा झोपडीको लागि  जानु पर्दछ जँहा प्राथनामा समय बिताउन सकियोस।जब आफ्नो छोराको उमेर  २५ वर्ष काटछ अर्थात उ गृहस्थ आश्रममा प्रवेश गर्दछ तव वानप्रस्थको समय आउछ। बनमा वसेर हवन, पूजा गर्ने, ध्यान गर्ने तथा नातीको रेखदेख गर्ने र बस्ने अबस्था हो ।यो संसारिक जीवनको सामान्य त्यागको अवस्था पनि हो ।
 
४. सन्यास आश्रम 
यो सन्यास आश्रम ७५ बर्षको उमेर पश्चातको अबस्था हो ।यो आत्म कल्याणको अबस्था पनि हो ।यस अबस्थामा सांसारीक तृष्णाको पूर्ण त्याग र सबै कृत्यहरुको समाप्ति हो । मनमा कुनै पनि चाहना नराख्नु र निश्चित बासस्थान नहुनु सन्यास हो। जीवनको अन्तिम समयमा यस आश्रमको व्यवस्था हुन्छ।यस आश्रममा ईन्द्रीय संयम रहनु र वाहिर भित्र पवित्र रहनु पर्दछ। हिंसा नगर्नु, सत्य वोल्नु, कसैमाथि रिस नगर्नु, क्रुर नहुनु, सहनशील हुनु जस्ता कर्तब्य यस आश्रममा हुन्छन।यस चरणमा ब्यक्ति पूर्णरुपमा परमात्माप्रति समर्पित हुन्छ।सबै ईच्छा, डर, आशा , कर्तव्य, जिम्मेवारी सबै त्यागिएको हुन्छ।यो जीवनको सन्ध्याको अबस्था हो।
 
संसारको देख्नेको यात्रा पूरा हुन्छ।यो २५ वर्षको यात्रा प्रभू स्मरणको अबस्था हो। यस अबस्थामा व्यक्तिले गुरुको कार्य गर्नुपर्ने हुन्छ।आफ्नो ७५ बर्षको सारा अनुभव गूरुमार्फत बच्चालाई प्रवाह गर्नुपर्दछ। जव ७५ वर्ष माथिको गुरुको साथमा साना वच्चा आँउछन तव उनीप्रति आदर सम्मानको भाव बढछ। सन्यास आश्रममा पुगेको व्यक्तिको वासना हुँदैन, निर्वासना हुन्छ र  भगवान सरह पूज्य मालुम हुन्छन। 
 
जसको कुनै वासना हुदैन, ईच्छा हुदैन, मोह हुदैन, चित्त अनाशक्त हुन्छ र उसको लागि सब समान हुन्छ।यस अबस्थामा जीवनको शिखरमा पुगेको बृद्धको पासमा वच्चाले ईश्वरको अनुभव गर्न पाँउछ त्यसैले भनिन्छ गुरु व्रह्मा गुरु बिष्णु गुरु देवो महेश्वर। ओशो भन्नुहुन्छू  गुरु हुनुपर्दछ जो जीवनको अस्त र बिद्यार्थी हुनु पर्दछ जो जीवनको उदय। जब सब विकार, काम, क्रोध,  लोभ, मोह, रिस, राग सब छुटकारा भएको ब्यक्तिसंग वच्चा जम्मा भएर ज्ञान लिन्छन तब जीवनको दान लिएर फर्कन्छन अर्थात चीर ऋणी भएर फर्कन्छन । तर आजभोली गुरु र विद्यार्थी दुईचार बर्षको फरकका हुन्छन तसर्थ गुरु गुरुको रुपमा रहन सक्दैनन। आज जो गुरु भनिएका छन ती सबै केवल सूचनादाता मात्र हुन ।उनमा जीवनको अनुभव छैन तसर्थ आजको विद्यार्थीले गरुप्रति आदर देखाउन सकेको छैन ।
 
अत आश्रमप्रणाली जुन शास्त्रसम्मत जीवनको क्रमको व्यवस्था छ त्यो अति वैज्ञानिक छ। श्री कृष्ण भगवानले अर्जुनलाई भन्नुभएको छ ूजब शास्त्रसम्मत जीवनको कर्म व्यवस्थामा प्रवेश हुन्छ त्यो अनुकूल जीवनमा वहन्छ, त्यो ईन्द्रीयको सुखको उपलब्धी हुन्छ र अनन्त आत्माको आनन्द उपलब्ध हुन्छू।वर्णाश्रम पूर्वीय दर्शनको ठूलो योगदान हो।यो प्रणाली जिवनसृष्टिको क्रम अनुकूल तथा प्राकृतिक नियम अनुकूल रहेको छ। 
 
हाम्रो समाज दिनप्रतिदिन खण्डित हुँदै गईरहेको छ।समाजमा व्यक्तिहरु विक्षिप्त हुँदै गईरहेका छन।घरघरमा झैझगडा, कलह तथा हिंसा बढेको देखिन्छ। सत्र अठार वर्षको उमेर नपुग्दै बिवाह गर्ने साथै ब्रह्मचर्य बस्नुपर्ने उमेरमा विवाह गर्ने र बिवाह गर्ने उमेरमा बिछोड वा पारापाचुके हुने गरेको देखिन्छ। ७५ बर्षमाथि उमेर भईसकेका व्यक्तिहरुमा समेत सत्ता मोह भएको देखिन्छ। अहिलेका २५ बर्षभित्रका शहर वजारका धेरै युवायुवतिको दिनहरु बिनाश्रम, बिना मेहनत, बिना संघर्ष बितेको छ।ज्ञान, सीप, क्षमता बढाउनुपर्नेमा वेवास्ता गरेको पाईन्छ । 
 
त्यसैगरी यो उमेर अबस्थामा ईनर्जि जोगाउनुपर्नेमा कुलतमा लागेर खर्च गरिरहेका हुन्छन  तसर्थ जब २५ बर्षभन्दा पछिको उमेरमा कडा परिश्रम र संघर्ष गर्नुपर्ने  र घरव्यवहार चलाउनुपर्ने अवस्था आँउछ तब  व्यक्ति आतिएर,भौतारिएर दुखमा परेको छ। किशोरकिशोरीहरुले बढी श्रम गर्नुपर्नेमा बृद्धवृद्धाहरुले बढी श्रम गरेको देखिन्छ। जससंग शक्ति छ उसले आराम गरिरहेको छ भने जसको शक्ति क्षीण हुदै गईरहेको छ उसले श्रम गरेको छ।
 
श्रम नगर्ने जमात विश्वविद्यालयमा आन्दोलन गर्ने, ढुङ्गा हान्ने, लुटपाट गर्ने, अपराधिक कार्य गर्ने र वसीबसी कमाउन खोजिरहेको छ।उमेर अबस्था घर्किदै गईरहेको मानिसहरुमा समेत लोभ, मोह, द्धेष, ईर्श्या बढी भएको देखिन्छ। हामी अन्धाधुन्द रुपमा विदेसी को संस्कार संस्कृति विकास मोडलको नक्कल तथा अनुकरण गरेकाछौ तर आप्नो संस्कार संस्कृति र विशेषतालाई भुल्दै गईरहेका छौ। हामीले आफ्नो विशेषता अनुकूलको विकास मोडल अपनाउन सकेका छैनौ । हामी आफ्नो स्वधर्मलाई विर्षेर परधर्मलाई अङगालिरहेका छौ ।
 
यसर्थ जीवनसृष्टिको नियम तोडनाले अर्थात प्रकृतिको नियम विपरित हिडनाले हामीमा यी सब विकृतिहरु देखिएका छन । एकजना व्यक्तिको जीवन प्राकृतिक रुपमै चार हिस्सामा बाँडिएको छ र हरेक हिस्साका  आफ्ना प्राकृतिक नियम छन। जीवनको एक अनिवार्य प्राकृतिक नियम यो छकी जुन चिजलाई हामी ठीकसंग जान्दछौ त्यसदेखि मुक्त हुन्छौ र जसलाई ठीकसंग जान्दैनौ अर्थात प्रकृतिक नियम विपरित चल्दछौ वा दवाउछौ त्यसबाट कहिल्यै पनि मुक्त हुन सक्दैनौ । यदी हामीले हाम्रो जीवनलाई सम्यक सन्तुलित र आनन्दित बनाउने हो भने हामी प्रत्येक व्यक्ति, परिवार ,समाज र राष्ट्रले जीवनसृष्टिको जो क्रम हो त्यसको साथ बग्नुपर्दछ साथै प्रकृतिको नियम अनुकूल चल्न सक्नु पर्दछ । हाम्रो पूर्बीय दर्शनमा वैदिक परम्पराअनुसार चलिआएको आश्रम प्रणालीलाई केही न केही रुपमा भएपनि अबलम्वन गर्दै जानु आवाश्यक छ ।