Trending :
 

आयरल्याण्ड सहित यी हुन् विश्वकप छनोट खेल्ने १० टोली

बैशाख २७,२०८०

-आस्था न्यूज

वैशाख २७, २०८० काठमाडौं ।
आगामी सेप्टेम्बरमा भारतमा हुने वानडे विश्वकपका लागि जुन-जुलाईमा जिम्बावेमा छनोट खेल्ने १० वटै टोलीको टुङ्गो लागेको छ । जहाँबाट शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन् ।
 
आईसीसी क्रिकेट विश्वकप सुपर लिगको अन्तिम शृंखलाको पहिलो खेलमा बंगलादेश र आयरल्याण्डबीचको खेल वर्षाले प्रभावित हुँदा नतिजाविहीन बनेपछि आयरल्याण्डले अब विश्वकप छनोट खेल्नुपर्ने भएको छ । यसको फाइदा दक्षिण अफ्रिकालाई भएको छ र दक्षिण अफ्रिकाले सुपर लिगको शीर्ष आठमा रहेर सीधै विश्वकपमा स्थान पक्का गरेको छ ।
 
१३ टोली सम्मिलित सुपर लिगमा आयोजक भारतसहित शीर्ष आठ टोलीले विश्वकपमा स्थान बनाएका हुन् । पुछारका पाँच टोलीले भने अब जिम्बावेले १० टोली सम्मिलिति छनोट प्रतियोगिता खेल्नुपर्नेछ ।
 
बंगलादेशसँगको खेल नतिजाविहीन बनेपछि आयरल्याण्डको ७३ अंक छ र ११औं स्थानमा छ । आयरल्याण्डले अब बाँकी दुई खेल जिते पनि आठौं स्थानमा रहेको दक्षिण अफ्रिकालाई भेट्ने छैन । दक्षिण अफ्रिकाको ९८ अंक छ । यदि आयरल्याण्डले बंगलादेशलाई सबै तीन खेलमा हराएर नेट रनरेटमा सुधार गरेको भए विश्वकपमा पुग्ने सम्भावना कायम थियो । तर अब त्यो सम्भावना टरेको छ ।
 
यी हुन् विश्वकप छनोट खेल्ने १० टोली
 
जिम्बावेले आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । जहाँ ४ टेष्ट राष्ट्र वेष्ट इन्डिज, श्रीलंका, आयोजक जिम्बावे र आयरल्याण्डसँगै ६ एशोसिएट टोली छन् । चार टेष्ट राष्ट्रसहित सुपर लिग खेलेको नेदरल्याण्ड्स सुपर लिगको अन्तिम पाँच स्थानमा रहेपछि विश्वकप छनोटमा आइपुगेको हो ।