आगामी बजेटमा प्रशासनिक खर्च घटाउने अर्थमन्त्री महतको घोषणा

बैशाख २७,२०८०

-आस्था न्यूज

वैशाख २७, २०८० काठमाडौं ।
अर्थमन्त्री डा. प्रकाशरण महतले प्रशासनिक खर्च घटाउने घोषणा गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो घोषणा गरेका हुन् ।
 
‘अब हामीले खर्च कम गर्ने ठाउँ कहाँ छ? प्रशसनिक लागत जुन छ त्यसलाई कम गर्ने लक्ष्य छ । बजेटमा अझ स्पष्टसँग भनौंला’ उनले भने ।
 
जहाँ जुन खर्च नगरेर पनि काम चल्छ त्यहाँ खर्च नगर्ने सरकारको नीति हुने उनले बताए । यही नीति अनुसार चल्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्ने उनले बताए । ‘अनावश्यक ठाउँमा खर्च नगर्ने, गाडी नकिन्ने । त्यसैले (पुरानैले) चलाउने’ उनले भनेका छन् ।
 
पछिल्ला केही वर्षहरुमा अनावश्यक भवन बनाउने प्रतिस्पर्धा चलेको उल्लेख गर्दै वर्तमान सरकारले यसलाई ख्याल गर्ने बताए ।