शरणार्थी प्रकरण अनुसन्धानमा प्रहरीलाई कुनै अवरोध नगर्ने सहमति
-आस्था न्यूज
वैशाख २७, २०८० काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक नेतृत्व मुछिए पनि प्रहरी अनुसन्धानमा कुनै डिस्टर्ब नगर्ने सहमति भएको छ ।
बुधवार सिंहदरबारमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक यस्तो सहमति भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए ।
‘यो विषयमा प्रहरीले जसरी अनुसन्धान बढाएको छ, यसमा प्रहरीलाई कुनै डिस्टर्व गर्नु हुँदैन भन्नेमा हामी सबैको सहमति छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
साथै उनले मिडियामा प्रचार भए जसरी तीन जना नेताबीचको भेटमा दोषीलाई उम्काउने प्रयास नभएको समेत दावी गरे ।
‘त्यस्तो होइन । हामीहरुको भेट बढी अहिले सदनलाई कसरी सुचारु गरेर लैजाने रु त्यहाँ समितिहरू कसरी बनाउने, संयुक्त समितिहरू कसरी बनाउने भन्ने विषयमा बढीजसो छलफल हुने गरेको हो । तपाईँहरूलाई लागेको छ, त्यही एउटै केसमा तर त्यो होइन’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
उनले भुटानी शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति नपाओस् भनेर प्रहरीलाई स्पष्ट निर्देशन दिएको बताए ।