पाकिस्तानमा पूर्वप्रधानमन्त्री खान पक्राउ पछि भड्किएको हिंसामा १० जनाको मृत्यु

बैशाख २८,२०८०

-आस्था न्यूज

बैशाख २८, २०८० काठमाडौं ।
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि देशभर हिंसा भड्किएको छ । देशभर पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई)का कार्यकर्ता प्रदर्शन र आगजनीमा उत्रिएका छन् । पछिल्ला केही दिनका हिंसामा कम्तीमा १० जना मारिएको बीबीसीले जनाएको छ । 
 
पूर्वप्रधानमन्त्री खानपछि पीटीआईका नेताहरूलाई पनि गिरफ्तार गरिएको छ । बीबीसी उर्दूका अनुसार पीटीआईका नेता तथा पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि पक्राउ गरिएको छ । कुरैशीलाई बुधबार पक्राउ गरिएको हो ।
 
पक्राउ पर्नुअघि पीटीआईले सार्वजनिक गरेको भिडियोमा कुरैशीले भनेका छन्, प्रहरी मलाई गिरफ्तार गर्न आएको छ । म एउटा सन्देश दिन चाहन्छु, यो आन्दोलन स्वततन्त्रताको हो । यसमा हामीले सहभागिता जनाउनुपर्छ । आज इमरान खान उनीहरूको हिरासतमा छन् । उनको ज्यानलाई खतरा छ । पूर्वविदेशमन्त्री कुरैशीले नेतारकार्यकर्तालाई खानको रिहाइ नभएसम्मका लागि आन्दोलन जारी राख्न पनि आह्वान गरेका छन् ।
 
इस्लामाबाद प्रहरीले खानलाई अल कादिर ट्रस्टको मामिलामा पक्राउ गरेको हो । अर्को कुनै मुद्दामा धरौटी बुझाउन अदालत पुगेका खानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो । एनएबी (नेसनल एकाउन्टिबिलिटी ब्युरो) ले आफ्नो कानुनअनुसार खानलाई पक्राउ गरेको विज्ञप्ति जारी गरेको छ ।