Trending :
 

संसदीय समिति गठन र विधेयक टुंगोमा पुर्‍याउनेबारे शीर्ष नेताबीच छलफल

बैशाख ३१,२०८०

-आस्था न्यूज

वैशाख ३१, २०८० काठमाडौं ।
संसद्‌मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका नेताहरूबीच संसदीय समिति गठन र विभिन्न विधेयक टुंगोमा पुर्‍याउने विषयमा छलफल भएको छ । 
 
प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, प्रभावकारी रूपमा संसद् सञ्चालनलगायतका विषयमा छलफल गरेका थिए । 
 
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार संसदीय सुनुवाइ समिति गठनलगायत विषयमा छलफल भएको थियो । आइतबार बिहान करिब १० बजेदेखि सुरु भएको बैठकमा संसदीय सुनुवाइ समिति गठन, संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ संशोधनलगायत विषयमा छलफल भएको लेखकको भनाइ थियो ।
 
बालुवाटार बैठकमा संसद्को चालु अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठकमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई छिटो टुंगोमा पुर्‍याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्नेलगायत विषयमा छलफल भएको उनले बताए ।
 
जेठ ४ गतेसम्म संसदीय सुनुवाई समिति गठन गरिसक्ने समझदारी भएको कांग्रेसका प्रमुख सचेतक लेखकले जानकारी दिए । त्यसपहिले संयुक्त समिति सञ्चालन नियमावली संशोधन गरिसक्ने समझदारी भएको पनि उनले बताए ।