नेपाल-बंगलादेश ऊर्जा वार्ता भोलिदेखि

बैशाख ३१,२०८०

-आस्था न्यूज

वैशाख ३१, २०८० काठमाडौं ।
आगामी वर्षायाममा विद्युत व्यापार सुरु गर्न आवश्यक वातावरण तयार गर्न नेपाल र बंगलादेशले छलफल गर्ने भएका छन् । भोलि सोमबारदेखि बंगलादेशमा सुरु हुने नेपाल–बंगलादेश ऊर्जा वार्तामा यसबारे छलफल हुनेछ ।
 
बैठकमा पहिलो दिन संयुक्त कार्य समूहको बैठक बस्ने छ भने दोस्रो दिन नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्नेछ । बैठकमा नेपालको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले गर्नेछन् भने बंगलादेशकातर्फको नेतृत्व त्यहाँका ऊर्जा सचिव हाबिबुर रहमानले गर्नेछन् ।
 
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा प्रवक्ता मधुप्रसाद भेटवालका अनुसार दुई देशबीच ऊर्जा व्यापार सुरु गर्नेबारे पनि बैठकमा महत्वका साथ छलफल हुनेछ ।
 
विद्युत व्यापार थाल्नेबारे नेपालको विद्युत प्राधिकरण र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)बीच समझदारी (एमओयू) गर्ने बारे पनि छलफल हुने उनको भनाइ छ । समझदारीपत्रको मस्यौदा बनाएर अहिले दुवै देशले छलफल गरिरहेका छन् ।