मोखा चक्रवातका कारण म्यानमारमा ५ जनाको मृत्यु, बंगलादेशमा हजारौं घरमा ठूलो क्षति

जेठ ०१,२०८०

-आस्था न्यूज

जेठ १, २०८० काठमाडौं ।
बंगालको खाडीबाट विकसित भएको चक्रवातका कारण म्यानमार र बंगलादेशमा ठूलो क्षति पुगेको छ । म्यानमारमा कम्तिमा पाँच जनाको ज्यान गएको छ भने बंगलादेशमा हजारौं घरहरु ध्वस्त भएका छन् ।
 
तीव्र गतिको आँधीका कारण बंगलादेशको सेन्ट मार्टिन आइल्याण्डका १२ हजार घर र कोक्स बजार भन्ने स्थानमा रहेको रोहिंग्या शरणार्थी शिविरमा पनि करिब त्यति नै संख्यामा घरहरु ध्वस्त भएका बीबीसीले जनाएको छ ।
 
सबैभन्दा बढी प्रभावित कोक्स बजार भएको बंगलादेशका अधिकारीहरुले बताएका छन् । कोक्स बजारको शरणार्थी शिविरमा करिब १० लाख मानिसहरुको बसोबास छ ।
 
आँधी र भारी वर्षाबाट प्रभावितहरुलाई अस्थायी शिविरहरुमा राखिएको छ ।
 
बंगलादेश मौसम विज्ञान विभागका अनुसार तुफान बंगलादेशबाट गइसके पनि वर्षा अझै केही दिन जारी रहने छ । चक्रवातका कारण ठूलो आँधी र पानी पर्ने पूर्वानुमान सार्वजनिक भएलगत्तै बंगलादेशले ५ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारेको थियो ।
 
विभागका अधिकारीहरुले प्रभावित भएकाहरु अब आ–आफ्नो घर जान सक्ने जनाएका छन् । तर आगामी २४ घण्टासम्म समुद्री किनारतर्फ भने नजान अधिकारीहरुले सल्लाह दिएका छन् ।