नक्कली शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएकोले हदैसम्मको कारबाही हुनुपर्ने माग
-आस्था न्यूज
जेठ १, २०८० काठमाडौं ।
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको बताएका छन् ।
समाजवादी प्रेस संगठन नेपाल पर्साले सोमबार बिहान वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो कार्यमा संलग्नलाई हदैसम्म कानुनी कारबाही हुनु पर्ने पनि बताएका छन ।
आफ्नो देशको नागरिकको पहिचान बदलेर विदेश पठाएर पैसा कमाउन प्रलोभन दिनेहरू अपराधी मात्रै होइनन्, राष्ट्रद्रोही पनि हुन,’ पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भने, ‘देशको नै मान, सम्मान र मर्यादामा आँच पुर्याउनेहरुलाई कारबाही गर्न सरकारले खुट्टा कमाउनु हुदैँन्, उनीहरुलाई हदैसम्म कारबाही गर्नुपर्छ ।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मारिएकाहरूलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएकोमा सरकारलाई धन्यवाद पनि ज्ञापन गरेका छन् । ‘यस प्रकरणलाई लिएर वर्तमान सरकारले जुन तरिकाले काम गरिरहेको छ, यो कार्य र साहसिक कदमको सरहाना गर्दछु,’ उनले भने । उनले जनताको विश्वास जित्दै परिणाममुखी कार्य गर्न पनि सुझाव दिएका छन् ।