सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमको विषयमा प्रधानमन्त्रीको ब्रिफिङ

जेठ ०२,२०८०

-आस्था न्यूज

जेठ २, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० दलको बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमको विषयमा ब्रिफिङ गरेका छन् । 
 
बैठकमा प्रचण्डले सरकारको नीति तथा कार्यक्रम कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर ल्याउन लागेको ब्रिफिङ गरेको माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 
 
यस्तै देशको वर्तमान आर्थिक स्थितिलाई सन्तुलनमा ल्याउने गरी नीति तथा कार्यक्रम ल्याउने  पनि प्रचण्डले बैठकमा जानकारी गराएको उनको भनाइ छ ।  
 
उनले देशमा  रोजगारी सिर्जना गर्ने तथा  युवाशक्तिलाई विदेश जानबाट रोक्ने रणनीतिका साथ नीति तथा कार्यक्रम ल्याउन नेताहरुले सरकारलाई सुझाव दिएको पनि जानकारी दिए । 
 
यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नीति तथा कार्यक्रम र  मुलुकको अर्थ व्यवस्थाबारेमा बैठकमा छलफल भएको बताए । उनले बैठकमा केही नेताहरुले सुझाव दिएको र  समय अभावका कारण लिखित रुपमै दिन पनि प्रधानमन्त्रीले आग्रह गरेको बताए । सबैको सुझावलाई समेटेर सरकारको नीति तथा कार्यक्रम ल्याइने प्रचण्डले बैठकमा जानकारी गराएका थिए । 
 
सरकारले आगामी आर्थिक वर्षको बजेटका नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउँदै छ । त्यसअघि प्रधानमन्त्रीले अर्थमन्त्रीसमेतलाई राखेर  सत्ता पक्षमा रहेका गठबन्धनका नेताहरुसँग आवश्यक परामर्श गरेका हुन् ।