गृहमन्त्री भन्छन् -जस्तोसुकै दबाब आए पनि शरणार्थी अनुसन्धान प्रभावित हुन दिन्नँ
-आस्था न्यूज
जेठ ३, २०८० काठमाडौं ।
उप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाई वैभवशाली जीवन व्यतित गर्ने प्रवृत्तिलाई जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताएका छन् ।
उनले दोषी नउम्कने र निर्दोष नफस्ने गरी प्रहरीले स्वतन्त्र अनुसन्धान गरिरहेको जानकारी दिए ।
बुधबार सो प्रकरणमा चासो राख्दै गृह मन्त्रालय पुगेका नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष विजय पौडेल र प्रवक्ता जगन्नाथ खतिवडासहित नेताहरुको प्रतिनिधिमण्डलसँग कुराकानीका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै दोषीलाई कारबाहीका लागि प्रतिबद्धता जनाए ।
उनले जस्तोसुकै दबाब र प्रभाव आएपनि गृहमन्त्रीकारुपमा आफूले अनुसन्धानलाई प्रभावित हुन नदिने बताए । समाजवादीका नेताहरुले सो प्रकरणमा संलग्नलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
एकीकृत समाजवादीले सो प्रकरणमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन स्पष्ट अडान, कार्यकुशलता र सक्रियता देखाएर आमनागरिकमा सकारात्मक सन्देश प्रवाह गरेकोमा सरकारलाई धन्यवादसमेत दिएको छ ।
विगतका धेरै भ्रष्टाचार काण्डहरू बीचैमा सामसुम पारिएका हुँदा यति गम्भीर मुद्दालाई कुनै पनि प्रकारको मिलोमतोमा कमजोर नबनाउन र ढाकछोप नगर्न एकीकृत समाजवादीले ध्यानाकर्षण गराएको छ ।