विमान दुर्घटना भएको १८ दिनपछि जब ४ बालबालिका जीवितै फेला परे...

जेठ ०४,२०८०

-आस्था न्यूज

जेठ ४, २०८० काठमाडौं ।
कोलम्बियामा १८ दिनअघि भएको विमान दुर्घटनामा ११ महिनाको बच्चासहित चार जना जीवितै भेटिएका छन् । विमान दुर्घटना भएको दुई हप्तापछि अमेजन जङ्गलमा चार जना बालबालिकालाई जीवितै भेटाइएको कोलम्बियाका प्रधानमन्त्रीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपति गुस्ताभो पेट्रोले यो देशकै लागि आनन्दको खबर भएको उल्लेख गरेका छन् ।
 
गएको मे १ मा विमान दुर्घटना भएकोमा विमानमा यात्रा गरिरहेका नाबालिगहरूको खोजी गर्न तालिम प्राप्त कुकुरसहित एक सय जनाभन्दा धेरै सिपाही तैनाथ गरिएको थियो । दुर्घटनामा पाइलट र बच्चाकी आमासहित तीन जनाको ज्यान गएको थियो ।
 
राष्ट्रपति पेट्रोले बालबालिकालाई कहाँबाट उद्धार गरिएको हो र उनीहरू जङ्गलमा एक्लै कसरी बाँचे भन्नेबारेमा कुनै जवाफ दिएका छैनन्। बालबालिकाहरू जङ्गलमा हाँगा भाँचेर बनाइएको सानो आश्रयस्थलमा बसेका खबरमा उल्लेख छ ।