स्वीकृति बिना पूर्व प्राथमिक तहका पाठ्यपुस्तक नपढाउन आग्रह

जेठ ०५,२०८०

-आस्था न्यूज

जेठ ५, २०८० काठमाडौं ।
पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृति लिएर मात्र पठनपाठन गराउनुपर्ने भएको छ । पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तकको गुणस्तर कायम गरी एकरूपता कायम गर्ने उद्देश्यले स्वीकृतिपछि मात्रै पठनपाठन गराउन भनेको हो ।
 
२० वैशाखमा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विद्यालय तहका अन्य पाठ्यसामग्री सरह पूर्व प्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्री पनि मूल्याङ्कन गरेर स्वीकृति गर्ने निर्णय गरेको थियो ।
 
सोही आधारमा केन्द्रले आगामी शैक्षिक सत्र २०८१ देखि पूर्व प्राथमिकता तहमा प्रयोग हुने पाठ्यसामग्रीहरू यस केन्द्रमा पेस गरी मूल्याङ्कन गरेर स्वीकृत पाएपछि मात्र छपाई तथा विक्री वितरण गर्न भनेको हो ।
यसअघि प्रयोगमा आइसकेका पाठ्यसामग्रीहरू समेत मूल्याङ्कनका लागि पेस गर्न र स्वीकृति भएपछि मात्र प्रयोगमा ल्याउन केन्द्रले अनुरोध गरेको छ । पाठ्यसामग्री मूल्याङ्कनका लागि पेस गर्ने सम्बन्धी विषय र प्रक्रिया सम्बन्धमा पुनः सूचना प्रकाशित गरी जानकारी गराइने केन्द्रले जनाएको छ ।