जथाभाबी स्वास्थ्य उपकरण किन्ने अस्पताललाई सरकारले स्पष्टीकरण सोध्ने

जेठ ०५,२०८०

-आस्था न्यूज

जेठ ५, २०८० काठमाडौं ।
जथाभाबी स्वास्थ्य उपकरण किन्ने अस्पताललाई सरकारले स्पष्टीकरण सोध्ने भएको छ ।
 
शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले ठाउँ र जनशक्ति नभएर पनि उपकरण किनेका अस्पताललाई स्पष्टीकरण सोध्ने बताउनुभएको हो।
 
उहाँले दुई वर्षसम्म पनि प्रयोग नभएका वा प्रयोग हुन नसकेका सामान स्वास्थ्य सेवा विभागले फिर्ता लिई आवश्यकताअनुसार अरू अस्पतालमा मन्त्रालयको सहमतिमा हस्तान्तरण गर्ने पनि उल्लेख गर्नुभयो ।
 
उहाँले भन्नुभयो, ‘ठाउँ नभएर वा जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पताललाई स्पष्टीकरण सोध्छौँ । अब उपकरण खरिद गर्दा न्यूनतम सेवा मापदण्डले औल्याएका अनुसारका उपकरण मन्त्रालयको समन्वयमा खरिद गर्ने । खरिद गरिसकेका सामान बेवारिसे बनाएर नराख्ने । स्वास्थ्य सेवा विभागलाई खरिद एवम् वितरणमा थप व्यवस्थित गर्न निर्देशन दिने ।’
 
मन्त्री बस्नेतले प्रत्येक अस्पताललाई आउँदा दुई वर्षको कार्ययोजना बनाएर पेस गर्न लगाउने पनि बताउनुभयो । स्वास्थ्य सेवा विभागलाई खरिद एवम् वितरण गर्न थप व्यवस्थित गर्न निर्देशन दिनुभयो । 
 
उहाँले सबै सङ्घीय अस्पतालको उपकरण जाँच गर्ने पनि बताउनुभयो । भएका उपकरणले काम गर्दा गर्दै पनि अन्य खरिद गरेको गुनासो बढेको भन्दै छानबिन गरी कारबाही अघि बढाउने उहाँको भनाइ छ ।
 
मन्त्री बस्नेतले आन्तरिक सेवा व्यवस्थापन चुस्त बनाउने र अनलाइनबाट टिकट लिई ओपीडी सेवा १५ दिनभित्र दिइसक्ने व्यवस्था गर्न लागेको बताउनुभयो ।