अस्पतालको शय्याको विवरण दैनिकरुपमा वेवसाइटमा राख्न निर्देशन

जेठ ०५,२०८०

-आस्था न्यूज

जेठ ५, २०८० काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालको शय्याको विवरण दैनिकरुपमा वेवसाइटमा राख्न निर्देशन दिएका छन् ।
 
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले सङ्घीय अस्पतालले सामान्य र आकस्मिक शय्यामा भर्ना भएका र रिक्त श्ययाको सङ्ख्या वेबसाइटमा दैनिकरुपमा अध्यावधिक गर्न निर्देशन दिएका हुन् ।
 
उनले भने, “ठूलो पदमा भएका वा पहुँच भएकाले तत्कालै सहजै शय्या पाउने तर पहुँच नभएका बिरामीले नपाउने अवस्था छ । काठमाडौंमा अस्पतालको शय्याको खोजीमा हिँड्दा हिँड्दाहिँड्दै बिरामी मृत्युसम्म हुने गरेको छ”, उनले भने, “सबै बिरामीको पहुँच र समय व्यवस्थापनका लागि अस्पतालले सात दिनभित्र अनिवार्यरुपमा श्ययामा भर्ना र रिक्त सङ्ख्याबारे वेबसाइटमा जानकारी राख्नुपर्छ ।”
 
अस्पतालमा भीड व्यवस्थापन र सहजीकरणका लागि सङ्घीय अस्पतालमा १५ दिनभित्र बहिरङ्ग सेवामा अनलाइन टिकटको व्यवस्था गर्न उनले निर्देशन दिएका छन् । ​