Trending :
 

कीर्तिपुर र मुलपानी क्रिकेट रङ्गशालाको स्तरोन्नति २ वर्षभित्र गर्ने सरकारको घोषणा

जेठ ०५,२०८०

-आस्था न्यूज

जेठ ५, २०८० काठमाडौं ।
सरकारले आउँदो दुई वर्षभित्र काठमाण्डौको कीर्तिपुर र मुलपानी क्रिकेट रङ्गशालाको स्तरोन्नति गर्ने भएको छ । 
 
आज शुक्रवार संसदमा प्रस्तुत भएको आउँदो आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा दुई वर्षभित्र कीर्तिपुर र मुलपानी क्रिकेट रङ्गशालाको स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुने व्यवस्था गरिने उल्लेख छ । यस्तै चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङको विराटनगर क्रिकेट रङ्गशालाको पूर्वाधार निर्माण कार्य अघि बढाइने जनाइएको छ ।
 
सरकारले हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गर्ने नीति पनि लिएको छ । वार्षिक खेलकुद क्यालेन्डर तयार गरी अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिताको आयोजना गरिने, एक वडा एक खेल मैदान, एक पालिका एक कभर्ड हलको निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
 
सरकारले खेलकुदलाई राष्ट्र्को पहिचान¸ गौरव र प्रतिष्ठा बढाउने माध्यमको रूपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न जोड दिने भएको छ । साथै अन्तर्राष्ट्रिरयस्तरका खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रोत्साहन एवम् पुरस्कृत गरिने उल्लेख छ ।