चीन जम्मू-कश्मीरमा हुने जी-२० बैठकमा सहभागी नहुने

जेठ ०७,२०८०

-आस्था न्यूज

जेठ ७, २०८० काठमाडौं ।
 
चीन भारत प्रशासित जम्मू-कश्मीरमा हुने जी-२० बैठकमा सहभागी नहुने भएको छ ।
 
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले जम्मू-कश्मीरमा हुने जी-२० बैठकमा सहभागी नहुने स्पष्ट पारेका छन् । भारत प्रशासित कश्मीरमा हुने जी-२० टुरिजम वर्किङ ग्रुपको बैठकमा चीनले सहभागिता नजनाउने बताएको हो ।
 
चीनले विवादित क्षेत्रमा हुने कुनै पनि प्रकारको जी-२० बैठकको कडा विरोध गर्ने जनाएको छ । जी-२० टुरिजम वर्किङ गु्रपको बैठक मे २२ देखि श्रीनगरमा हुने तय भएको छ । यो समूहमा भारत बाहेक अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, युनाइटेड किंगडम, अमेरिका र युरोपियन युनियन रहेका छन् ।
 
अगस्ट २०१९ मा जम्मू कश्मीरबाट धारा ३७० हटाएपछि जम्मू कश्मीरमा आयोजना हुने यो सबैभन्दा महत्वपूर्ण कार्यक्रम हो । भारतले यस वर्ष जी–२० देशहरूको अध्यक्षता गरिरहेको छ । एजेन्सी