महिलाहरूलाई पाठेघरको क्यान्सरबाट बचाउन एचपीभी खोपको व्यवस्था गर्न माग

जेठ ०७,२०८०

-आस्था न्यूज

जेठ ७, २०८० काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले पाठेघरको क्यान्सरबाट महिलाहरूलाई बचाउनका लागि एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोपको व्यवस्था गर्न माग गरेकी छन् । उनले एचपीभी खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न पनि माग गरेकी छन् । 
 
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद कार्कीले पाठेघरको क्यान्सरबाट ठूलो संख्यामा महिलाहरू पीडित भएको र ज्यान गुमाउने भएकाले सरकारले एचपीभी खोपको व्यवस्था गर्नुपर्ने माग गरेकी हुन् ।
सांसद कार्कीले महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान र उपचार गर्नु आवश्यक रहेको पनि बताइन् । उनले भनिन्, राज्यले यसका लागि अझै पनि मास स्क्रिनिङ कार्यक्रम नराखेको र भ्याक्सिनको व्यवस्था पनि नगरेकाले हामीकहाँ हरेक वर्ष करिब २ हजार ३ सय महिलाहरू सिकार भइराखेका छन् । 
 
उनले बर्सेनि उक्त क्यान्सरबाट १ हजार ५ सय महिलाहरूले उक्त रोगका कारण ज्यान गुमाइरहेको पनि दाबी गरिन् । एचभीपी खोपको व्यवस्था गरेमा पाठेघरको क्यान्सर लागेका महिलाहरूको संख्यामा उल्लेख्य कमी हुने उनको भनाइ थियो ।