Trending :
 

खासमा यो सरकारसँग कुनै नीति नै छैनः ओली

जेठ ०७,२०८०

-आस्था न्यूज

जेठ ७, २०८० काठमाडौं ।
प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धन दुःखको कारण भएको बताएका छन् । सरकारसँग अर्थतन्त्रलाई वृद्धि गर्ने कुनै योजना नभएको र खासमा सरकारसँग कुनै नीति नै नभएको उनको आरोप थियो । 
 
प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले अर्थतन्त्र ध्वस्त वर्तमान सत्ता गठबन्धनका कारण भएको बताए । के यहि दिन ल्याउनका लागि, के देशलाई ओह्रालो ल्याउनका लागि, अर्थतन्त्रलाई ध्वस्त बनाउनका लागि यो गठबन्धन बन्नुपरेको थियो ? उनको प्रश्न थियो, यो गठबन्धन देश र जनताका लागि बनाएको कि देश र जनतालाई कष्ट दिनका लागि बनाएको रु दुःखको कारण भएको छ यो गठबन्धन ।
 
पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले वर्तमान गठबन्धन नै अर्थतन्त्रको संकटको कारक भएको बताए । नेकपा (एमाले)को सरकारलाई विस्थापन गरी बनेको कांग्रेस-मा‌ओवादी केन्द्रसहितको गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍याउने प्रमुख कारक हो, उनले भने, प्रधानमन्त्रीज्यूलाई लागेको होला यो सरकार राम्रो छ, सफल छ भनिदिए हुन्थ्यो । तथ्यांकहरूले त्यस्तो बोल्दैनन् ।
 
सरकारसँग नीति र कार्यक्रम नै नभएको ओ‌लीको भनाइ थियो । उनले सरकार नीति शून्यतामा अगाडि बढेको बताएका हुन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममा आर्थिक वृद्धिका योजना नै नभएको उनले बताए । यो प्रस्तावित नीतिमा उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने कुनै योजना नै छैन । आधुनिक पूर्वाधार निर्माणका कार्यहरू तीव्र गतिमा अगाडि बढाउने उत्साह नै छैन । सामाजिक न्याय कायम गर्ने दृष्टिकोण पनि छैन ।
 
संक्षिप्तमा भन्दा नीति तथा कार्यक्रमको उद्देश्य छैन । कहाँ पुग्ने भन्ने गन्तव्य छैन । कसरी जाने मार्गचित्र छैन । सर्वत्र नीति शून्य नीतिको अवस्था छ । अहिलेको सरकारको नीति के हो भने नीति शून्य नीति, उनले भने,यस्तो नीति तथा कार्यक्रमले देशलाई गति दिन सक्दैन, राष्ट्रलाई अग्रगमनको गन्तव्यमा पुर्‍याउन सक्दैन । राष्ट्रले भोगिरहेका समस्या, जनताले भोगिरहेका समस्याहरूलाई सम्बोधन गर्न पनि सक्दैन ।
 
नीति तथा कार्यक्रमले मुलुकको वर्तमान अर्थतन्त्रको अवस्थाबारे जानकारी नगराएको पनि ओलीको भनाइ थियो । उनले संसद् र जनतालाई सरकारले मुलुकको वर्तमान अवस्थाको जानकारी नगराएको बताए ।