आजदेखि काभा महिला भलिबल च्यालेन्ज कप सुरु हुँदै, नेपालले किर्गिस्तानसँग खेल्ने
-आस्था न्यूज
जेठ ८, २०८० काठमाडौं ।
नेपाल भलिबल इतिहासमै नेपालको महिला टिमले घरेलु कोर्टमा खेल्न लागेको अहिलेसम्म ठूलो प्रतियोगिता एनएससी(काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा मध्य एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) मा आबद्ध १४ मध्ये विश्व भलिबलमै आफ्नो उपस्थिति गराइसकेको काजखस्तान अनि दक्षिण एसियाको बलियो टोली भारतसहित ८ टिमले यस पटक प्रतिस्पर्धा गर्दैछन् ।
लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्ने लक्ष्यमा रहेको नेपालले आज किर्गिस्तानसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्दैछ । नेपाल र किर्गिस्तानबीचको खेल साढे चार बजे सुरु हुनेछ । समूह ए मा नेपाल र किर्गिस्तानसहित भारत र बंगलादेश छन् ।
यस्तै समूह बी मा काजाखस्तान, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स छन् । पछिल्लो संस्करणको उपविजेता उज्वेकिस्तान र श्रीलंकाबीच आज पहिलो खेल हुनेछ ।
एक सातासम्म चल्ने प्रतियोगितामा समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
यसअघि काभा क्षेत्रको दोस्रोस्तरको टिमहरुबीच दुई पटक भएको प्रतियोगिता नेपालले जितेको थियो ।