ए डिभिजन लिगमा खुमलटारले सातदोबाटोलाई हरायो

जेठ ०९,२०८०

-आस्था न्यूज

जेठ ९, २०८० काठमाडौं ।
शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार पुछारको एफसी खुमलटारले चौथो स्थानको सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।
 
दशरथ रंगशालमा भएको खेलमा मेसुके ओलोमोउको एक मात्र गोल मद्दतमा खुमलटारले छिमेकी सातदोबाटोलाई १-० ले पराजित गरेको हो ।
 
जितपछि २० खेलबाट २१ अंक जोडेको खुमलटार अन्तिम स्थानमै छ । अन्तिमबाट दोस्रोमा रहेको फ्रेण्ड्ससँग खुमलटारले अंक बराबरी गरेको छ ।
 
रेलिगेसन जोनमा रहेको फ्रेण्ड्स र खुमलटार भन्दा एपीएफ, एनआरटी र संकटा दुई अंकले मात्र अघि छन् ।
 
पराजित सातदोबाटोले भने तेस्रो स्थानको जावलाखेल युथ क्लबसँग अंक दूरी एकमा झार्ने मौका गुमायो र चार अंकले पछि छ ।
 
२० खेलबाट २९ अंकसहित सातदोबाटो चौथो स्थानमै छ । समान खेलबाट जावलाखेल ३३ अंक जोडेर तेस्रोमा छ ।
 
२०औं चरणको खेल सकिँदा चर्च ब्वाइज युनाइटेड ३७ अंकसहित शीर्ष स्थानमा छ ।
 
चर्च ब्वाइजलाई पछ्याएको साविक विजेता मछिन्द्र एफसी ३४ अंकसहित दोस्रो स्थानमा छ ।