भुटानी शरणार्थी प्रकरणमा तीन पार्टी बसेर खासखुस गरेको गन्ध संसदसम्म आइपुगेकोले रोक्न माग

जेठ १०,२०८०

-आस्था न्यूज

जेठ १०, २०८० काठमाडौं । 
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैसँग बयान लिनुपर्ने बताएका छन् ।
 
सरकारको नीति तथा कार्यक्रममाथि बुधबार भएको छलफलमा रास्वपा सभापति लामिछानेले तीन पार्टी बसेर खासखुस गरेको गन्ध संसदसम्म आएको बताए । त्यसलाई रोक्नुपर्ने भन्दै उनले कसैको नाम आएपछि हिलो लाग्छ भने रेड कार्पेट ओछ्याइदिनु तर प्रहरी कार्यालयमा लगेर बयान लिनुपर्ने बताएका हुन् ।
 
एकाएक वेपत्ता भएका व्यक्ति बयान सकिएपछि संसदमा देखिएको र मिडियामा तामातुलसी गर्दै कसम खाएको दृश्य देखिएको उनले बताए । यो प्रकरणमा जस्ता–जस्ता मान्छेको नाम क्रमशः आउँदैछ, उनीहरुलाई एकपटक पनि बयानका लागि नबोलाउँदा अविश्वासको वातावरण सिर्जना भएको उनले बताए ।
 
प्रधानमन्त्रीले मुटु कमाउँदिनँ भनेपनि त्यस्तो नदेखिएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीजी, अब म तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने हो भन्नुस् । काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ ।’