जडीबुटी उत्पादनलाई जोड दिइने वनमन्त्री महतोको भनाई
-आस्था न्यूज
जेठ १०, २०८० काठमाडौं ।
नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जडिबुटीको उत्पादनमा जोड दिइ विदेश निर्यातका लागि सहज बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बुधबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथग्रहण गरेसँगै सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले स्वदेशी उत्पादनलाई निर्यात गर्न सहज भुमिका खेलिदिने र उत्पादनलाई प्रोत्साहन गर्ने पहिलो प्राथमिकता हुने बताए ।
उनले कुहिए जाने काठहरुलाई अब व्यवस्थित गर्ने कुरामा विशेष ध्यान दिने पनि बताए। उनले नेपालमा कुहिएर जाने काठहरुको कानून अनुसार विदेश निर्यात गर्ने वा स्वदेशमा नै खपत गर्नसक्ने वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाए ।
उनले वन मन्त्रालयमा रहेका हाइड्रोपावरका विषयमा अल्झिएका प्रक्रियाहरुलाई सहजीकरण गर्नेकुरामा आफ्नो ध्यान रहने बताए।
वन तथा वातावरण मन्त्रालय मन्त्री महतोले वातावरणमा असर गर्ने उद्योगहरुलाई निगरानी गरी कुनै असर नपर्ने गरी सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाए । उनले आफू मन्त्रालयमा रहुन्जेलसम्म भ्रष्टाचार हुन नदिने र कुनै प्रलोभनमा परेर काम नगर्ने प्रतिवद्धता व्यक्त गरे ।