आगोबाट जलेका पीडितलाई उपचार खर्च दिन सांसद भण्डारीद्धारा सरकारसँग माग

जेठ १०,२०८०

-आस्था न्यूज

जेठ १०, २०८० काठमाडौं । 
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले ग्यास बाल्ने, बिजुली बाल्ने, सडक क्रस गर्ने जस्ता विषय स्कुले पाठ्यक्रममा नै समेट्नका लागि सरकार समक्ष आग्रह गरेका छन् ।
 
उनले जलन पीडितलाई पनि सरकारले सहयोग गर्नुपर्ने बताए । क्यान्सर, मुटु र किड्नीका बिरामीलाई सरकारले उपचार खर्च दिइरहेको र त्यसमा जलन पीडितलाई पनि दिन आग्रह गरेका छन् ।
 
खाना पकाउने ग्याँसको जलेर घाइते भई भारत र नेपालमा उपचार गराएका सांसद भण्डारी पहिलोपटक बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा भण्डारीले दुर्गम क्षेत्रका र आर्थिक अवस्था कमजोर भएका जलन पीडितको पक्षमा सरकारले निर्णय गर्नुपर्ने माग गरेका छन् ।
 
गत पुस ३ गते भण्डारी बस्दै आएको बुद्धनगरस्थित घरमा ग्यास सिलिण्डर पड्किँदा घाइते भएका थिए । उनकी आमाको भने निधन भएको थियो । आफू शौभाग्यबस बाँचेर संसद्मा बोल्ने अवसर पाएको उल्लेख गर्दै नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरू विश्वका कुनै पनि चिकित्सकहरू भन्दा कम नभएको पनि उनले बताए ।
 
सांसद भण्डारीले नेपालमा जलन अस्पतालको स्थापना गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।