ए डिभिजन लिगमा एपीएफद्वारा संकटा २-१ पराजित

जेठ १०,२०८०

-आस्था न्यूज

जेठ १०, २०८० काठमाडौं । 
राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ । 
 
बुधबार च्यासल मैदानमा भएको खेलमा एपीएफ संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको २५ औं मिनेटमा आवाश लामिछानेले  गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए ।
 
पहिलो हाफको इन्जुरी समयमा आवासले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ५० औं मिनेटमा संकटाका लागि मनिस डाँगीले गोल गरेका थिए । जितसँगै एपीएफले २१ खेलमा २६ अंक जोडेको छ । संकटाको २१ खेलमा २३ अंक रहेको छ ।
 
त्यस्तै बुधबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन आर्मीलाई न्युरोड टिम एनआरटीले १-० गोल अन्तरले पराजित गरेको छ । एनआरटीको जितमा कृतिस रत्न छुन्जुले खेलको ७९ औं मिनेटमा निर्णायक गोल गरे । जितसंगै एनआरटीले २१ खेलमा २६ अंक जोडेको छ । आर्मीको २१ खेलमा २९ अंक रहेको छ ।