भुटानी शरणार्थी प्रकरण: प्रहरीको इतिहासमा अहिलेसम्मकै हाई प्रोफाइल फौजदारी मुद्दा

जेठ ११,२०८०

-आस्था न्यूज

जेठ ११, २०८० काठमाडौं ।
नेपाल प्रहरीको इतिहासमा अहिलेसम्मकै हाई प्रोफाइल फौजदारी मुद्दा अदालतमा पुगेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने भन्दै गरिएको ठगीमा संलग्न ३० अभियुक्तविरुद्ध २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबीसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । राज्य संयन्त्रकै संरक्षणमा भएको यो अपराधमा तत्कालीन मन्त्रीदेखि सचिवसम्म गिरोहमा संलग्न थिए । 
 
अभियुक्तविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, संगठित अपराध र ठगी कसुरअन्तर्गत मुद्दा चलाइएको छ । अभियोगपत्रमा भनिएको छ, ‘नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भनी विश्वास दिलाई, झुक्यानमा पारी पीडित जाहेरवालाबाट रकम संकलन गरेको तथा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी हुन् भनी प्रमाणितसमेत गर्नका लागि सरकारी तहबाट समिति गठन गर्ने, प्रतिवेदन तयार गर्ने, पत्राचार गर्ने र गराउनेसमेतको कार्य गरी-गराई नेपालीलाई समेत भुटानीका रूपमा अमेरिका पठाउने भनी नेपालको अन्तर्राष्ट्रिय स्वाभिमान र छविउपर अपमान हुने राष्ट्रहित प्रतिकूल काम गरी संगठित रूपले ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसमेतको कसुर गरेको वारदात स्थापित हुन आयो ।’
 
यो मुद्दा दुई आधारले ऐतिहासिक रहेको प्रहरी अधिकारीहरू बताउँछन् । पहिलो, मुद्दामा संलग्न व्यक्तिहरूको ओहदा । दोस्रो, कसुरको गम्भीरता । पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्वसांसद, बहालवाला सचिवदेखि राजकीय सुविधा लिएका अन्य केही व्यक्तिलगायतलाई एउटै घटनामा पक्राउ गरेर मुद्दा दायर गर्न प्रहरी सफल भएको छ । यसअघि एउटै मुद्दामा यो तहका व्यक्ति पक्राउ गरेर मुद्दा दायर भएको थिएन । आजको नयाँ पत्रिकामा खबर छ।