काभा महिला भलिबलमा कीर्गिस्तान र श्रीलंका पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्ने

जेठ ११,२०८०

-आस्था न्यूज

जेठ ११, २०८० काठमाडौं ।
नेपालमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्तान र श्रीलंका पाचौं स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
 
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा कीर्गिस्तानले माल्दिभ्ससँग जीत निकाल्दा अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको हो ।
 
दुवै टोलीको जीतसँगै विजेता २ टोलीको भिडन्त पाँचौं स्थानका लागि तय भएको छ । प्लेअफ अन्तर्गत बिहीवार भएको पहिलो खेलमा कीर्गिस्तानले माल्दिभ्समाथि ३-० को सहज जीत दर्ता गरेको हो ।
 
कीर्गिस्तानले माल्दिभ्सलाई २५-२०, २५-२० र २५-१५ ले हराएको हो । पाँचौं स्थानका लागि शनिवार खेल हुनेछ ।
 
प्रतियोगिता अन्तर्गत बिहीवार नै भएको अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई ३-० को सेटमा जीत निकाल्दै कीर्गिस्तानसँगको भेट पक्का गरेको हो । रोमाञ्चक खेलमा श्रीलंकाले बंगलादेशमाथि २५-१६, २५-१५ र २५–७ को सहज जीत निकालेको हो । 
 
यससँगै छैठौं र सातौं स्थानका लागि प्रतिस्पर्धा गर्ने टोलीको पनि टुंगो लागेको छ । यस स्थानका लागि माल्दिभ्स र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
 
प्रतियोगिता अन्तर्गत शुक्रवार नै उज्वेकिस्तान र भारतबीच पहिलो सेमिफाइनल खेल दिउँसो साढे २ बजे हुनेछ । नेपाल र काजकिस्तानबीच दोस्रो सेमिफाइनल खेल शुक्रवार साँझ ५ बजे हुनेछ । दुवै सेमिफाइनल विजेताबीच आइतवार फाइनल खेल हुनेछ । नेपाल घरेलु कोर्टमा च्याम्पियनको ह्याट्रिक गर्ने लक्ष्यमा रहेको छ ।