काभा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा आज कजाकस्तानसँग भिड्दै नेपाल

जेठ १२,२०८०

-आस्था न्यूज

जेठ १२, २०८० काठमाडौं ।
एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत नेपालले आज शुक्रबार कजाकस्तान सामना गर्दैछ ।
 
प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत नेपालले कजाकस्तानको सामना गर्नेछ ।
 
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने नेपाल र कजाकस्तानबीचको खेल साँझ ५ बजे सुरु हुनेछ ।
 
नेपाल आज कजाकस्तानलाई हराएर फाइनल पुग्ने योजनामा रहेको छ ।  नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
 
कजाकस्तान पनि नेपाललाई हराएर उपाधि नजिक पुग्न चाहन्छ । कजाकस्तान समूह बी को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
 
पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २स्३० बजे सुरु हुनेछ ।
 
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।
 
प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ ।