तनहुँका कृषकलाई मौरी सहितको घार वितरण

जेठ १२,२०८०

-आस्था न्यूज

जेठ १२, २०८० काठमाडौं ।
तनहुँको म्याग्दे गाउँपालिका-४ छिम्लीस्वाराका कृषकलाई मौरी सहितको घार वितरण गरिएको छ ।
 
समूहमा आवद्व ४६ कृषकलाई मौरी सहितको घार वितरण गरिएको हो । 
 
ग्रामीण पोषण सुरक्षण कार्यक्रमअन्तर्गत कृषकलाई ९० प्रतिशत अनुदानमा मौरी सहितको घार वितरण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी र म्याग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले कृषकलाई घार हस्तान्तरण गरे ।
 
कृषकलाई कृषि पेसामा आकर्षित गराउन अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखिएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए । मौरीपालन सम्बन्धी स्थलगत तालिम तथा अभिमुखीकरण कार्यक्रममा सहभागी भएका कृषकलाई मौरी सहितको घार अनुदानमा वितरण गरिएको हो ।
 
कृषकको आयआर्जनमा वृद्वि गराई आर्थिक क्षेत्रमा सबल बनाउन सरकारले अनुदान कार्यक्रमलाई जोड दिँदै आएको छ ।