Trending :
 

पशुपतिनाथको जलहरीमा पित्तल लगाइएको घटनाबारे छानबिन गर्न माग

जेठ १२,२०८०

-आस्था न्यूज

जेठ १२, २०८० काठमाडौं ।
माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसद्‍मा पशुपतिनाथको जलहरीमा पित्तल लगाइएको घटनाबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् । शुक्रबारको संसद्‍मा आफूले यसबारे प्रश्न उठाउँदा संसदीय मर्यादा उल्लंघन नभएको उनको भनाइ छ ।
 
शुक्रबार सांसद दाहालले यसबारे प्रश्न उठाउँदा नेकपा एमालेका सांसदहरूले आपत्ति जनाउँदै संसद्‍ अवरुद्ध पारेका थिए । सांसद दाहालले भने बरु एमाले अध्यक्ष केपी ओलीले नै संसद्‍मा बोल्दा संसदीय मर्यादा उल्लंघन गर्ने गरेको आरोप लगाए । संसद्‍ अवरुद्ध भएपछि पत्रकारहरूसँग बोल्दै सांसद दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
 
सांसद दाहालले संसदीय मर्यादा उल्लंघन गरेको भन्दै एमालेले आपत्ति जनाएकोमा जवाफ दिँदै सांसद दाहालले बरु केपी ओलीले नै २ घण्टाको अभिव्यक्तिमा हरेक ५ मिनेटमा संसदीय मर्यादा उल्लंघन गर्ने गरेको बताए ।
 
मैले प्रश्न उठाउँदा व्यक्तिमाथि किटान गरेको छैन । तत्कालीन प्रधानमन्त्रीको रुपमा केपी ओलीज्यूले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ भनेको मात्रै हुँ । संसदीय छानबिन समिति गठन गरौं न त । त्यो सुन कसले खायो ? उहाँहरूले आपत्ति जनाउनुपर्ने कुनै आधार छैन, सांसद दाहालले भने, उहाँको सरकारको पालामा भएका भ्रष्टाचारका घटनाको छानबिन गरौं भनेर फहरिस्त बुझाउने क्रममा मैले पशुपतिको जलहरी लगाउँदा भएको अनियमितताको पनि प्रसंग उठाएको हुँ ।
 
उक्त योजनामाथि पहिले नै मुद्दा परेको स्मरण गराउँदै सांसद दाहालले त्यस क्रममा ११ किलो सुन नभेटिएको दाबी गरेका छन् । संसद्‍मा दाहालले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने भन्दै एमाले सांसदहरूले नाराबाजी गर्दै विरोध जनाएका थिए ।