जलहरी प्रकरणमा सत्तापक्षका सांसद लेखनाथ दाहालले बोलेको रेकर्ड हटाइने
-आस्था न्यूज
जेठ १३, २०८० काठमाडौं ।
प्रमुख तीन दलहरुबीच पशुपतिनाथको जलहरीमा सत्तापक्षका सांसद लेखनाथ दाहालले बोलेको जलहरी प्रकरणको विषयलाई संसदको रेकर्डबाट हटाउने सहमति भएको छ ।
आज बिहान बसेको प्रमुख तीन दलका नेताहरुबीचको बैठकले सांसद दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेको अभिव्यक्ति हटाउने सहमति भएको हो ।
संसदभित्र प्रमुख प्रतिपक्ष दलका नेतामाथि तथ्यहीन आरोप लगाएको भन्दै नेकपा एमालेले शुक्रबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो । सोही विषयलाई टुंग्याइ सदन सञ्चालन गर्न आज शीर्ष तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुबीच छलफल भएको हो ।
छलफलमा सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गरी जलहरी निर्माणको प्रक्रियामा सुनको भनेर पित्तलको हाल्ने काम भयो भन्ने आरोपको संसदको रेकर्डबाट हटाउने र आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रष्ट्याउने सहमति एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।