नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनबाट बहुमतले पारित

जेठ १४,२०८०

-आस्था न्यूज

जेठ १४, २०८० काठमाडौं । 
सरकारको आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनबाट बहुमतले पारित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ५ जेठमा संघीय संसद्मा आफ्नो सम्बोधनमार्फत पेस गरेको नीति तथा कार्यक्रम कुनै परिमार्जनविना एक साताभन्दा बढी समय छलफल गरेर पारित भएको हो ।
 
राष्ट्रिय सभाले परेका तीनवटा संशोधन अस्वीकृत गर्दै ९ जेठमा बहुमतले पारित गरेको थियो भने २० वटा संशोधन परेको प्रतिनिधिसभाले एउटा पनि नसमेटेर बहुमतका आधारमा हुबहु पारित गरेको हो । प्रतिनिधिसभाले १६ वटा संशोधन प्रस्ताव अस्वीकृत गर्‍यो भने चारवटा प्रस्ताव सांसदले आफैँ फिर्ता लिएका थिए । 
 
कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्तिको समर्थनमा नीति तथा कार्यक्रम पारित हुँदा एमाले, रास्वपा, राप्रपा, नेमकिपा र जनमोर्चाले असहमति राख्दै विपक्षमा उभिएका थिए । सदनमा आठ दिनसम्म छलफल भएको नीति तथा कार्यक्रममा कुनै परिमार्जन नभए पनि आएका सुझावलाई बजेट वक्तव्यमा समेट्ने प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।