आन्दोलनकाबिच झण्डै ३ महिनापछि कोशी प्रदेशसभा बैठक बस्दै
-आस्था न्यूज
जेठ १४, २०८० काठमाडौं ।
झण्डै ३ महिनापछि आइतवार कोशी प्रदेशसभा बैठक बस्दैछ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले आइतवार दिउँसो २ बजेका लागि बजेट अधिवेशनको आह्वान गरेकाले बैठक बस्न लागेको छ । ८९ दिनपछि कोशी प्रदेशसभा बैठक बस्न लागेको हो ।
गत फागुन १७ गते प्रदेश सभाको दुईतिहाइ बहुमतबाट प्रदेशको नाम ‘कोशी’ राखिएको थियो । त्यसपछि बैठक बसेको छैन ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा प्रदेश नामकरण गरिएको थियो । एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदले ‘कोशी’को विपक्षमा मतदान गरेका थिए ।
नामकरण भएपछि प्रदेशमा आन्दोलन हुँदै आएको छ । जातीय पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् । आन्दोलनकै क्रममा १ जनाको मृत्यु भएको छ ।
आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा पदम लिम्बू (लाजेहाङ) को मृत्यु भएको हो । पटक-पटक भएका झडपमा परी प्रहरी र आन्दोलनकारी घाइते भएका छन् ।
त्यति मात्रै होइन, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि समेत नामकरणकै विषयलाई लिएर पूर्वका विभिन्न जिल्लामा पार्टीको काममा आउँदा आक्रमणको प्रयास भएको थियो । मुख्यमन्त्री हिक्मत कार्की, नेकपा माओवादी संसदीय दलका नेता ईन्द्रबहादुर आङ्वो, नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानामगर लगायतका नेतामाथि समेत आक्रमणको प्रयास भएको थियो ।
नामकरणको ३ महिना बितिसक्दा पनि आन्दोलनले निकास पाएको छैन ।