काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जित्यो

जेठ १४,२०८०

-आस्था न्यूज

जेठ १४, २०८० काठमाडौं ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप २०२३ को उपाधि भारतले जितेको छ ।
 
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न फाइनल खेलमा काजकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारतले उपाधि जितेको हो ।
 
समूह ए बाट विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको भारतले उज्वेकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । यता, समूह बी को विजेता काजकिस्तानले भने नेपाललाई ३-२ को सेटमा हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
 
यसअघि, यो प्रतियोगिताको लगातार दुई संस्करणको उपाधि जितेको नेपालले भने यो संस्करणमा तेस्रो स्थानमा चित्त बुझायो । आजै भएको तेस्रो स्थानको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो ।
 
आठ राष्ट्रको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’मा नेपाल, कीर्गिस्तान, भारत र बंगलादेश थिए ।
 
यस्तै, समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकिस्तान थिए ।
 
प्रतियोगितामा पाचौँ स्थान श्रीलंकाले हासिल गर्यो । छैटौँमा कीर्गिस्तान, सातौँमा माल्दिभ्स र आठौँ स्थानमा बंगलादेश रहे ।