सरकारले आज आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्ने

जेठ १५,२०८०

-आस्था न्यूज

जेठ १५, २०८० काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आयव्यय (बजेट_ आज प्रस्तुत गर्दै छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज अपराह्न संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । 
 
सरकारले आर्थिक सुधार गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट ल्याउने भएको छ । १७ खर्बभन्दा केही रकम बढ्ने गरेर अर्थ मन्त्रालयले बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट आएको थियो, जसलाई मध्यावधि समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब खर्च हुने अनुमान गरिएको थियो ।
 
अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री महतले बजेटमा आर्थिक सुधारसहित अनावश्यक बोझ भएका समितिहरु खारेज गर्ने घोषणा बजेटमा गर्नेछन् ।
 
बजेटमा विगतमा जस्तो स्रोत सुनिश्चित नभएका परियोजनामा रकम विनियोजन नहुने र सुधारको कार्यक्रमलाई समावेश गरिनेछ । “आन्तरिक उत्पादन बढाउने र जनतालाई केही महसुस हुने कार्यक्रमको बजेटमा घोषणा हुने छ,” स्रोतले भन्यो ।
 
अर्थमन्त्री महतले बजेटमा नयाँ ठूला परियोजना भने घोषणा गर्ने छैनन् । सांसद विकास कोष कार्यक्रम नराख्नेमा करिब सहमति देखिएको छ । चल्न नसकेका केही सार्वजनिक संस्थानको निजीकरण तथा मर्जरको घोषणा बजेटमा हुनेछ ।
 
करको विषय भने बिलासी बस्तुको आयातमा लाग्ने कर बढ्नेछ । विदेशबाट आउने मदिरालगायतको बस्तुको कर बढ्नेछ । विद्युतीय गाडीको कर बढ्ने करिब टुंगो लागिसकेको स्रोतले बतायो ।
 
अहिले नै तलब दिन नसकिने अवस्था रहेको कारण कर्मचारीको सेवा सुविधा र सामाजिक सुरक्षा भत्ता नबढाउने तयारी छ । सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्ने र आर्थिक रुपले सक्षम वर्गलाई नलिएमा प्रोत्साहन दिने खालको योजना बजेटमा ल्याउने तयारी छ ।
 
मूल्यवृद्धिअनुसार कर लाग्ने सीमा आम्दानीमा बढाउनुपर्ने भए पनि कर नउठेको कारण यसलाई परिवर्तन गर्न नहुने करका अधिकारीको तर्क छ ।