बजेट भाषण:

रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ विनियोजन

जेठ १५,२०८०

-आस्था न्यूज

जेठ  १५, २०८० काठमाडौं ।
सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यो रकम यस आर्थिक वर्ष विनियोजन गरिएकोभन्दा दोब्बर हो ।
 
रासायनिक मल खरिद प्रक्रियामा सुधार गरी समयमै आपूर्ति सुनिश्चित गरिने अर्थमन्त्री महतले बताए । मल आपूर्तिलाई व्यवस्थित र पारदर्शी बनाइने पनि सरकारले घोषणा गरेको छ ।
 
स्वदेशमै रासायनिक मल कारखाना स्थापित गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी सार्वजनिक निजी साझेदारीमा लगानी बोर्डमार्फत काम अघि बढाइने सरकारले बजेट भाषणमा उल्लेख गरेको छ ।
 
किसानले समयमै रासायनिक मल नपाउने नेपालको पुरानै समस्या हो । सरकारले स्वदेशमै मल कारखाना खोल्ने बताउँदै आए पनि कार्यान्वयन भने हुन सकेको छैन ।