Trending :
 

प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन ऊर्जा सम्झौताको प्रयास हुने

जेठ १६,२०८०

-आस्था न्यूज

जेष्ठ १६, २०८० काठमाडौं ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा दीर्घकालीन ऊर्जा सम्झौताको प्रयास हुने बताएका छन् ।
 
प्रधानमन्त्री दाहालको ४ दिने औपचारिक भारत भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै विद्युत् आयोजनाहरूमा भारतीय लगानी आकर्षित गर्न प्रयास हुने बताएका हुन् ।
 
पत्रकार सम्मेलमा परराष्ट्रमन्त्री साउदले भने, विद्युत् आयोजनाहरूमा भारतीय लगानी आकर्षित गर्ने, ट्रान्समिसन लाइन विस्तार गरेर विद्युत् व्यापार बढाउने भारतसँग विद्युत् व्यापारसँगै बांग्लादेशसँग पनि विद्युत् व्यापार गर्ने आधार बनाउने हामीले यस भ्रमणमा तयार गर्नेछौँ ।
 
त्यस्तै नेपालमा उत्पादित विद्युत्को बिक्रीको सुनिश्चितताको प्रयास गर्ने पनि परराष्ट्रमन्त्री साउदले बताए । उनले भने, नेपालमा विद्युत् क्षेत्रमा लगानी अभिवृद्धि गर्नका लागि, बिजुली बिक्री हुने बजारको सुनिश्चितता गर्नका लागि भारतसँग लङटर्म पावर डिल गर्ने प्रयास हुनेछ । नेपालमा अर्बौं खर्बौं विद्युत्‌मा लगानी गरेसकेपछि त्यो बेच्न सकिन्छ भन्ने लगानीकर्ताहरू आश्वस्त हुन सकून् ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार भारतको ४ दिने भ्रमणमा जाने कार्यक्रम रहेको छ । जसमा परराष्ट्र र ऊर्जालगायतका मन्त्री सहभागी छन् ।