भारतको संसदमा लुम्बिनी र कपिलवस्तु समेटिएको नक्सा राखेको भन्दै विवेकशील साझाको ध्यानाकर्षण

जेठ १७,२०८०

-आस्था न्यूज

जेठ १७, २०८० काठमाडौं ।
छिमेकी राष्ट्र भारतले आफ्नो नयाँ संसद भवनमा कपिलवस्तु, लुम्बिनी जस्ता नेपालका ऐतिहासिक भूभागलाई समेत राखेर बनाईएको अखण्ड भारत को नयाँ नक्सा प्रति विवेकशील साझा पार्टीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। 
 
प्रधानमन्त्रीको भारत भ्रमणको सम्मुखमा अखण्ड नेपालका विशेष भूभाग भारतीय नक्सामा राखिनु सार्वभौम नेपाल राष्ट्रमाथिकै ठाडो प्रहार भएको  विवेकशील साझा पार्टीको ठहर छ।
 
विवेकशील साझाकी अध्यक्ष समिक्षा बास्कोटाद्धारा जारी विज्ञप्तीमा नेपालका महत्वपूर्ण भूभाग लुम्बिनी र कपिलवस्तु समेटेर अखण्ड भारतको नक्सा संसद भवनमा राख्ने भारतीय हेपाहा प्रबृत्तिको घोर भर्त्सना गर्दै तत्काल नक्शा सच्याउन विवेकशील साझा पार्टी भारत सरकारसंग आग्रह गरिएको छ ।
 
नेपाली भूमिमा भारतले  गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नलाई  दह्रो अडानसहित  कूटनीतिक पहलकदमी लिन भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विवेकशील साझा पार्टी आग्रह गरेको छ ।
 
त्यस्तै पार्टीले अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्ति विरुद्ध  प्रतिवाद गर्न र नेपाललाई दूरगामी असर पर्ने कुनै पनि सन्धी, सम्झोैता नगर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेको छ ।