तीन वर्षमा बनिसक्नुपर्ने पुल सात वर्षसम्म पनि नबनेपछि स्थानीयले कुटे ठेकेदार

जेठ १८,२०८०

-आस्था न्यूज

जेठ १८, २०८० काठमाडौं । 
तीन वर्षमा बनिसक्नुपर्ने मोटेरबल पुल सात वर्ष बितिसक्दा पनि अधुरै भएपछि रौतहटका स्थानीयले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा साह र ठेकेदार दयाराम साहलाई कुटपिट गरेका छन् ।
 
चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुर-गैँडाटार जोड्ने चाँदी नदीको पुल निर्माणमा ढिलाइ भएपछि चार दिनदेखि पुलमै रिले अनशनमा बसेका स्थानीयले सडकका हाकिम र ठेकेदारमाथि हातपात गरेका हुन् ।
 
सडक डिभिजनका प्रमुख डिई साह, पप्पु-शिवशंकर जेभीका ठेकेदार दयाराम, प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीसहितको टोली बुधबार अनशनस्थल पुगेको थियो । त्यही वेला आक्रोशित स्थानीयले दुईजनामाथि हातपात गरेको चन्द्रपुर नगरपालिका-३ का वडाध्यक्ष बोधनाथ देवकोटाले बताए । हातपात हुन थालेपछि दुवैजना प्रहरीको सुरक्षा घेरामा रहेर हिँडेका थिए । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी एकनारायण कोइरालाले हामीलाई जोगाएर ल्याएको बताए ।
 
सडकका प्रमुख साहले ठेकदारले ८० प्रतिशत काम गरिसकेको दाबी गरेर रकम लगे पनि फिल्डमा ६० प्रतिशत काम मात्र भएको बताएका थिए । तर, ८० प्रतिशतको पैसा दिन सक्ने, काम भने ६० प्रतिशत मात्र गराउने भन्दै स्थानीयले हातपात गरेको स्थानीया दीपक गौतमले बताए । यहाँ बुधबार महिलाको टोली मात्र अनशनमा बसेको थियो । 
 
पुलको ठेक्का रद्द गर्नुपर्ने माग राख्दै स्थानीयले आलोपालो मिलाएर चार दिनदेखि अनशन गरिरहेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।