अब ७५३ वटै स्थानीय तहबाट श्रम स्वीकृति लिन सकिने

जेठ १८,२०८०

-आस्था न्यूज

जेठ १८, २०८० काठमाडौं । 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीयताको मर्मअनुसार स्थानीय तहबाटै श्रम स्वीकृतिसम्बन्धी काम हुने गरी आवश्यक व्यवस्था मिलाएको छ ।
 
मन्त्रालयको सो व्यवस्थापनसँगै वैदेशिक रोजगारका लागि अनिवार्य मानिएको श्रम स्वीकृतिको आवेदन दिन पनि काठमाडौं आउनुपर्ने बाध्यताबाट हजारौं सर्वसाधारणले छुटकारा पाएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्ला दिनमा सेवा प्रवाहको क्षेत्रमा व्यापक सुधार गर्दै श्रम स्वीकृतिको काम पनि स्थानीय तहमा हुने गरी व्यवस्था मिलाएको हो ।
 
मन्त्रालयका सचिव एकनारायण अर्यालले संघीयताको मर्मलाई आत्मसात् गर्दै सेवा प्रवाहलाई विकेन्द्रित गरिएको जानकारी दिनुभयो । उहाँले मन्त्रालयबाट दिइने सेवालाई पूर्ण रूपमा प्रविधिमैत्री समेत बनाइएको र यसले गर्दा सर्वसाधारण नागरिकले पाउनुपर्ने सेवा आफ्नै ठाउँमा बसेर सुलभ र सरल रूपमा पाइरहको बताउनुभयो ।
 
मन्त्रालयले वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित, सुरक्षित, भरपर्र्दो, पारदर्शी तथा सहज बनाउने साथै सेवाग्राहीलाई नजिकको स्थानबाटै सेवा प्रदान गर्ने उद्देश्यअनुरूप स्थानीय तहबाटै वैदेशिक रोजगारीसम्बन्धी सूचना सरोकारवालासम्म पु¥र्याउने र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनश्रम स्वीकृतिका लागि आवेदन गर्ने कार्य स्थानीय तहबाटै थालिएको जानकारी दिएको छ । सो कार्य ७५३ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत भइरहेको जनाइएको छ ।
 
मन्त्रालयका सचिव अर्यालका अनुसार स्थानीय तहमा शुरू गरिएको नयाँ व्यवस्थाका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई श्रम स्वीकृतिकै लागि काठमाडौंसम्म आउनुपर्ने बाध्यताको अन्त्य गरेको छ । साथै, मन्त्रालयले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने व्यवस्थालाई समेत सुधार गरेको छ ।
 
मन्त्रालयका अनुसार यसअघि २ वर्षका लागि मात्रै श्रम स्वीकृति दिने व्यवस्था रहेकोमा हाल श्रम स्वीकृति दिँदा रोजगारदाता र श्रमिकबीच भएको श्रम सम्झौता र गन्तव्य मुलुकबाट प्राप्त कार्य अनुमति सम्झौताको अविधलाई आधार मानेर श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ ।
 
यसबाट श्रमिकहरू कार्य अवधि र भिसा अवधि कायम रहँदै श्रम स्वीकृतिकै लागि नेपाल फर्किनुपर्ने, विदेशमा बस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि समाप्त भई सुविधाबाट बञ्चित हुनुपर्नेलगायतका समस्या र सास्तीबाट मुक्त भएका छन् । साथै, श्रम स्वीकृतिको अवधि समाप्त भएका श्रमिकहरूले विदेशबाटै कूटनीतिक नियोग तथा अनलाईनमार्फत श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएपछि श्रमिकहरूलाई ठूलो राहत मिलेको सचिव अर्यालले बताउनुभयो ।
 
आजको नेपाल समाचारपत्रमा खबर छ ।