नक्कली शरणार्थी प्रकरणमा आज रायमाझी, शेर्पा र मियाँको बयान जारी

जेठ १८,२०८०

-आस्था न्यूज

जेठ १८, २०८० काठमाडौं। 
नक्कली भुटानी शरणार्थी प्रकरणमा आज तीन जनाको बयान भइरहेको छ ।
 
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङ्टावा शेर्पा र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँको बयान भइरहेको छ ।
 
नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको हो । 
 
बुधबार प्रतिवादी गोविन्द चौधरी, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी र रामशरण केसीको बयान भएको थियो । 
 
यसअघि इन्द्रजित राई, सन्देश शर्मा, नरेन्द्र केसी, केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टङ्ककुमार गुरुङको बयान भइसकेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १७ जना पक्राउ परेका छन् । उक्त प्रकरणका आरोपितमध्ये १३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।