Trending :
 

प्रचारबाजीभन्दा महानगरका काममा एक्सनमा जोड दिन बालेनलाई स्वास्थ्यमन्त्रीको सुझाव

जेठ १९,२०८०

-आस्था न्यूज

जेठ १९, २०८० काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र शाह ९बालेन० लाई प्रचारबाजीभन्दा एक्सनमा जोड दिन सुझाव दिएका छन् । 
 
सबैलाई सचेत गराउनुपर्ने कुरामा मात्रै प्रचार गर्न र गोप्य अनुगमन गर्नुपर्ने कामहरूमा पहिल्यै प्रचार नगर्न मन्त्री बस्नेतले आग्रह गरेका छन् । 
 
अस्पतालहरूमा १० प्रतिशत शैया विपन्न वर्गलाई छुट्याउनुपर्ने र निःशुल्क उपचार गर्नुपर्ने विषयमा भइरहेको अनुगमन प्रक्रियालाई जोडेर मन्त्री बस्नेतले यस्तो अभिव्यक्ति दिएका हुन् । 
 
गत बुधबार मेयर बालेनले स्वास्थ्यमन्त्रीलाई भेटेर १० प्रतिशत शैया नछुट्याउने र विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्न सातदिने अल्टिमेटम दिएका थिए । ६८ अस्पतालको सूची बुझाउँदै उनले सात दिनभित्र मन्त्रीले कारबाही नगरे अस्पताल प्रशासन बन्द गराउने समेत बताएका थिए । 
 
महानगरको ध्यानाकर्षणपछि मन्त्रालयको टोलीले गरेको अनुगमन र संकलित तथ्यहरूबाट अधिकांश नीजि अस्पतालले १० प्रतिशत शैया नछुट्याएको पाइएको मन्त्री बस्नेतले बताए । 
 
यसमा गोप्य अनुगमन गर्नुपर्ने भएकाले सञ्चारमाध्यममा प्रचार गर्नुभन्दा गोप्य अनुगमनबाट एक्सन लिनुपर्ने र त्यसमा मेयर बालेनको पनि साथ चाहिने मन्त्री बस्नेतको आशय छ । 
 
“उहाँ विदेश जानुभयो, उहाँलाई हामीसँगै अनुगमनमा लैजान चाहन्थ्यौँ” मन्त्री बस्नेतले थपे । विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने र शैयाको अवस्थाबारे वेभसाइटमार्फत् सार्वजनिक नगर्ने अस्पताललई चाँडोभन्दा चाँडो कारबाहीको दायरामा ल्याइने पनि उनले बताए ।