एक खेल अगावै ए डिभिजन लिगको उपाधि चर्च ब्वाइजले जित्यो
-आस्था न्यूज
जेठ २३, २०८० काठमाडौं ।
नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले एक खेलअगावै सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ।
मंगलबार भएको २५ औँ राउन्डको खेलमा थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज सहभागिताको पहिलो सिजनमै लिग च्याम्पियन बन्न सफल भएको छ।
यसअघि मनाङ मर्स्याङ्दी क्लबले २०४३ सालमा पहिलो सहभागितामै लिगको उपाधि उचालेको थियो।
घरेलु फुटबलमा ३७ वर्षयता कुनै पनि क्लबले पहिलो सहभागितामा लिग जितेको यो पहिलो पटक हो।
चर्च ब्वाइज अघिल्लो सिजन बी डिभिजन लिग च्याम्पियन हुँदै ए डिभिजनमा उक्लिएको थियो।
चर्च ब्वाइजले २५ खेलबाट ४५ अंक बनाउँदै लिग च्याम्पियन बनेको हो। चर्च ब्वाइजले २५ खेलमध्ये १२ मा जित, ९ खेलमा बराबरी र ४ खेलमा हार भोगेको छ।
दोस्रो स्थानमा रहेको मछिन्द्र फुटबल क्लबको २४ खेलमा १० मा जित, ९ मा बराबरी र ५ खेलमा हार भोग्दै ३९ अंक बनाएको छ।
मछिन्द्रले बाँकी दुइ खेल जितेपनि शीर्ष स्थानाम रहेको चर्च ब्वाइजलाई अंक तालिकामा भेट्ने छैन।
२५ खेलबाट थ्रीस्टारले ६ खेलमा जित, ११ खेलमा बराबरी र ८ खेलमा हार भोग्दै २९ अंक बनाएको छ।
लिग च्याम्पियन बनेपनि चर्च ब्वाइजले आगामी सिजनको एएफसी क्लब च्याम्पियनसिप खेल्न भने पाउने छैन।
चर्च ब्वाइजसँग एफसी क्लब लाइसेन्स नभएको कारण उसको स्थानमा मछिन्द्र फुटबल क्लबले एएफसी क्लब च्याम्पियनसिप खेल्नेछ।
एफसी क्लब लाइसेन्सबिना कुनै पनि क्लबले एएफसीको प्रतियोगिता खेल्न पाउँदैन। नेपालमा मछिन्द्र, आर्मी र एपीएफ मात्रै क्लब लाइसेन्स लिग सफल भएका छन्।
यसअघि मछिन्द्र २०७६ मा लिग च्याम्पियन बनेपनि एएफसी क्लब लाइसेन्स नभएका कारण उसको स्थान आर्मीले लिएको थियो।
त्यो समयमा दोस्रो स्थानमा रहेको आर्मीसँग मात्र क्लब लाइसेन्स थियो।