नक्कली भुटानी शरणार्थी प्रकरणः राज्यविरुद्ध संगठित अपराध गर्न सक्ने हैसियत नभएको जिकिर
-आस्था न्यूज
जेठ २५, २०८० काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणबारे काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसको चौथो दिन बुधबार इजलासमा प्रतिवादीका अधिवक्ता सरकारी वकिल र मुद्दाको अनुसन्धान गर्ने प्रहरीलाई गाली गर्नमा केन्द्रित भएका छन् । पेसा र हैसियतका विविध कारणले आफ्नो पक्षका प्रतिवादी राज्यविरुद्ध संगठित अपराध गर्न सक्ने हैसियतमा नभएको उनीहरूले जिकिर गरेका छन् ।
अभियुक्तहरू केशव दुलाल, सानु भण्डारी र टंक गुरुङका पक्षमा बुधबार दर्जनभन्दा बढी अधिवक्ताले बहस गरेका थिए । उनीहरू सबैको सार प्रतिवादीहरू सम्मानित जीवन बिताइरहेकाले अभियुक्त होइनन्, सरकारी वकिलले झुटा मुद्दा लगाएका हुन् भन्ने थियो । अभियुक्तका वकिलले सरकारी वकिलले जथाभावी अभियोजन गरेको जिकिर गर्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेले चाखका साथ सुनेका थिए भने अभियुक्तहरू अघिल्लो दिनको तुलनामा केही उत्सुक र हंसमुख देखिन्थे ।
अधिवक्ताहरूले झूटा मुद्दा लागेकालाई अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष अघि बढायो भने उनीहरूमाथि अन्याय हुने तथा तिनलाई रातदिन भात खुवाउँदा करदाताको पैसाको दुरुपयोग हुने जिकिर राख्दा इजलासमा हाँसो गुन्जिएको थियो । आफ्ना वकिलको बहस सुनेर सानु भण्डारी, केशव दुलाल र टंक गुरुङ मात्रै होइन, टोपबहादुर रायमाझी, बालकृष्ण खाण र टेकनारायण पाण्डेहरूसमेत खुसी देखिन्थे ।
‘प्रतिवादीका वकिलहरूले तर्क गर्ने ठाउँ नपाएपछि हावादारी कुरा गरेर इजलासको समय खाइदिए,’ अघिल्ला दिनहरूमा अभियुक्तहरूबारे बहस गर्ने एक सरकारी वकिलको प्रतिक्रिया थियो, ‘इजलासमा त तथ्य र तर्क राख्ने ठाउँ पो हो, तर यो मुद्दामा विद्वान्हरूले कुनै तर्क गर्ने ठाउँ नपाएर यस्तो पेसाको मान्छेले पनि त्यस्तो अपराध गर्छ होला त श्रीमान् भनेर हाँसो उठ्दो बहस गरेर समय बिताए ।’
प्रतिवादीका वकिलले सरकारी वकिलको अभियोजन तथ्यमा आधारित नभई दन्त्य कथाजस्तो रहेको टिप्पणी गरेका थिए । आफ्ना पक्षका मानिस निर्दोष भएकाले उनीहरूलाई छाड्ने आदेश न्यायाधीशले दिए उनको नाम स्वर्ण अक्षरमा लेखिनेछ भनेर प्रतिवादीका वकिलले फुर्क्याउँदा न्यायाधीश न्यौपाने मुसुमुस हाँसिरहेका थिए ।
अभियुक्तका अधिवक्ताले आफ्नो पक्षका मानिस निर्दोष भएको र उनीहरूलाई सरकारी वकिलको झूटो अभियोगले थुनामा पुर्याएको जिकिर गरिरहँदा इजलासमा बसेर सहायक जिल्ला न्यायाधिवक्ता निर्मला मरासिनी ध्यानपूर्वक टिपोट गरिरहेकी थिइन् । ‘यही टिपोटका आधारमा हामीले पछि जवाफी बहस गर्नुपर्छ,’ उनले भनिन्, ‘त्यसैले विपक्षीले जे भने पनि त्यसलाई नोट त गर्नै पर्यो ।’ आजको कान्तिपुरमा खबर छ ।