अहिलेसम्म चल्दै आएको विकास मोडेलबारे पुनर्विचार गर्नुपर्ने प्रधानमन्त्रीको भनाई
-आस्था न्यूज
जेठ २५, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो विकास मोडलबारे पनि पुनर्विचार गर्नुपर्ने बताएका छन्।
बुटबलमा लुम्बिनी केवलकारको बिहीबार दिउँसो उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्।
‘हामीले अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छ। हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशीताजस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए तापनि उत्पादन र रोजगारीको क्षेत्रमा हाम्रो प्रगति उत्साहजनक छैन,’ उनले भने।
प्रधानमन्त्रीले सरकार इमानदारीपूर्वक विकास र समृद्धिको यात्रामा अग्रसर भएको हुँदा, विकास र समृद्धिको मुद्दामा राजनीतिक दलहरूमा सहमति, सहकार्य र एकता कायम हुँदा र निजी क्षेत्रको साझेदारी र सहयोग रहँदा गुणात्मक सुधार असम्भव छैन भन्ने दृष्टान्तका लागि आफ्नो दोस्रो प्रधानमन्त्रीकाल नै पर्याप्त रहेको धारणा राखे।
अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग(व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारू गर्ने निर्णय गरिसकिएको उनले उल्लेख गरे।