अखण्ड भारतको नक्साबारे अनावश्यक टिप्पणी नगर्न भारतीय विदेशमन्त्रीको आग्रह
-आस्था न्यूज
जेठ २५, २०८० काठमाडौं ।
भारत सरकारले अखण्ड भारत नक्सालाई राजनीतिक विषय बनाउन नहुने बताएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरले संसद भवनमा राखिएको अखण्ड भारतको नक्सा सांस्कृतिक नक्सा भएको स्पष्ट पारे।
नक्सालाई लिएर नेपाल, बंगलादेश र पाकिस्तानमा विरोध भइरहेको भन्दै सोधिएको प्रश्नमा उनले यसलाई राजनीतिक विषय बनाउन नहुने बताए। उनले नेपाल र बंगलादेशलाई यसबारे थप प्रस्टीकरण चाहिए भारत सरकार तयार रहेको संकेत गरे।
मलाई लाग्दैन यो राजनीतिक विषय बन्नुपर्छ। हाम्रा छिमेकी मुलुक यसबारे बुझ्छन्। यदि कुनै प्रस्टीकरण चाहिन्छ भने यसमा कुनै ठूलो कुरा छैन, उनले भने।
उनले छिमेकी मुलुकहरू यस विषय प्रस्ट भइसकेको दाबीसमेत गरे। मलाई जानकारी भएअनुसार उनीहरू ९नेपाल र बंगलादेश० बुझिसकेका छन्, उनले भने।
उनले अखण्ड नक्साबारे विदेश मन्त्रालयले पहिल्यै प्रस्ट पारिसकेको भन्दै अशोका साम्राज्यका बखत उनको असल र जनउत्तरदायी शासनको सम्मानको स्वरूप मुरल नक्सा राखिएको प्रस्ट्याए।
नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई समेटिएको भन्दै विरोध हुँदै आएको छ। प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसदमै प्रधानमन्त्रीसँग यस विषयमा जवाफ मागेको थियो। प्रधानमन्त्री प्रचण्डले यस विषयमा छलफल भएको र विश्वासको वातावरण बन्दै गएपछि समस्या समाधान हुने बताएका थिए।
त्यस्तै बंगलादेशले कूटनीतिक नोट पठाएरै भारत सरकारको ध्यानाकर्षण गराएको थियो।